आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, सुदूरपश्चिम, कोशी, गण्डकीका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी वायुको प्रभाव छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आजको मौसम साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान छ ।
आज बिहान विराटनगर, भैरहवालगायत तराईका क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । तराई/मधेशका अरु ठाउँमा हुस्सु छ । काठमाण्डौ उपत्यकामा बिहान पातलो हुस्सु छ ।
आज राति भित्रने प्रणालीले धनगढी, डडेलधुरालगायतका ठाउँमा हल्का वर्षा हुन सक्ने, लुम्बिनीमा बादल लाग्ने सम्भावना रहेको महाशाखामा मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।
भोलि आइतवार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमवारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।