२०८१ पुष २८, आईतवार १९:४८
मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले खुला सीमानाका कारण हुने अपराधजन्य घटना न्यूनीकरणका लागि सुरक्षा निकायलाई गम्भीर हुुन आवश्यक रहेको औंल्याएका छन् । उनले खुला सीमामा हुने तस्करी तथा अपराधका घटनाप्रति सुरक्षा निकायको ध्यान जान आवश्यक रहेको समेत बताए ।
नेपाल पत्रकार पत्रकार महासंघ सप्तरीको सभाहलमा आइतबार पत्रकार भेटघाटमा बोल्दै मन्त्री लेखीले कुनै एउटा पक्षको प्रयासले मात्र तस्करी नियन्त्रण नहुने भएकोले यस बिषयमा प्रत्येक नागरिक सहयोग हुनुपर्नेमा जोड दिए ।
उनले मुलुक आर्थिक संकटमा भएकोले यसको सुधारमा सबैको ध्यानार्षण हुनुपर्ने आवश्यक रहेको उल्लेख गरे । मुलुकको आमूल परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका रहेकोले हामीले पहिलो चरण मधेस प्रदेशको पत्रकारहरूको स्वास्थ र दुर्घटना बिमा गरेको बताउदै उनले सहिद परिवारलाई समेत स्वास्थ्य वीमा गर्ने सरकारले निर्णय गरेका जानकारी दिए ।
वर्तमान संघीय गणतन्त्र नेपालको कारण चौतर्फी विकास हुनुको साथै सबै क्षेत्रमा समानजनक सहभागिता बढेको उल्लेख गर्दै उनले प्रदेश विरुद्ध नकारात्मक टिप्पणी गर्नु भनेको संविधान विरुद्ध धारणा बनाउनु हो भन्दै आक्रोश व्यक्त गरे । ‘मुलुकको तीन वटा संचनाको एउटा पिलर प्रदेश हो । यसै कारण राज्यको हरेक निकायमा सबैको प्रतिनिधित्व भएको छ’,उनले भने,´गलत पक्षको उजागर गर्दै स्वच्छ स्वस्थ्य आलोचना पत्रकारले निरन्तर रूपमा गर्नुपर्ने आवश्यक छ।’ जनतालाई सुलभ र प्रभावकारी सेवा प्रदान गर्न आवश्यक रणनीतिक सुरक्षा योजना बनाउन प्रदेश सुरक्षा समन्वय समितिको बैठक प्रदेश राजधानी बाहिरको जिल्लाहरुमा बस्न थालिएको बताउँदै मन्त्री लेखीले यस्तो बैठकले स्थानीय सुरक्षा अवस्थालाई सबल बनाउन मदत पुग्ने विश्वास व्यक्त गरे । तीन तहको सरकार वीच समन्वय गरि आवश्यक सुरक्षा रणनीति बनाउने उदेश्य राखी बैठक विभिन्न जिल्लामा गर्न सुरु गरेको बताए ।
उनले प्रदेश सरकारले कृषि विश्वविद्यालय,स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेटी पढाउ बेटी बचाउ अभियान लगायत शिक्षा स्वास्थ्य क्षेत्रमा थुप्रै उल्लेखनीय कार्य गरेको बताउँदै तीन तहको सरकार भएकै कारण छिटो समयमै विकासले गति लिएको दावी गरे ।
उनले सरकार फेरबदल हुनु नियमित प्रक्रिया भएको भन्दै प्रदेश सरकार परिवर्तन हुन्छ भनी चर्चा गर्ने बेला अहिले आइनसकेको बताए । विभिन्न दल मिलेर सरकार गठन भएकोले फेरबदल हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए । मन्त्री लेखी कृषि विश्वविद्यालयको समस्या समाधान गरि चाँडै पूर्वाधार निर्माण कार्य तथा पठनपाठनलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
पत्रकारसम्मेलनमा नीति आयोगकी सदस्य डा. शिला मिश्र, गृह, सञ्चार तथा कानून मन्त्रालय सचिब उद्गव रिजाल, मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी लालमणी आचार्य ,सशस्त्र प्रहरी प्रमुख डिआईजी कालीदास धौजी श्रेष्ठ, राष्ट्रियअनुसन्धानका मधेस प्रदेश निर्देशक माधव तिमिल्सिना, सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, लगायतको उपस्थिति रहेको थियो ।
Latest News
Trending News
© 2025: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech