सिरहाको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।
६ महिनाअघि दायर गरिएको मुद्दामा विशेष अदालतले दोषी ठहर हुने फैसला गर्दै नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भुवेशकुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई कैदसहित जरिवानाको फैसला गरेको छ ।
विशेष अदालतले आइतबार अनियमितता गरेको भन्दै उनीहरूलाई सजायको फैसला सुनाएको छ । विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाएको छ । त्यस्तै उनीहरूले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत तिर्नुपर्ने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा जरिवानासहित कैदको फैसला सुनाएको छ । प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतलाई औषधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
सो उजुरीमा आर्थिक वर्ष २०७४/०७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भई खरिद भएको ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको दाबी गरिएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा नरहा गाउँपालिकाले नियोमेड इन्टरनेशनलसँग ५७ प्रकारको औषधिजन्य मालसमान खरिद गरेको थियो ।
सो मालसमानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम भुक्तानी दिएको आयोगले ठहर गरेको थियो । सो मालसामानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेस गरेको बिल बमोजिमकै भुक्तानी गरिएको देखाएको थियो ।
सो विषयमा अनुसन्धान गरी अख्तियारले चालु आर्थिक वर्षको असार २५ मा दुवैजनामाथि मुद्दा दायर गरिएको थियो । अख्तियारले ‘नरहा गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनबिना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट ६ लाख २० हजार ९६ रुपैयाँ बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरी/नगराई औषधिजन्य मालसामानहरू हानिनोक्सानी गरे/गराएको हुँदा निजलाई हानीनोक्सानी भएको रकमलाई बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन हानिनोक्सानी भएको बिगो असुलउपर हुन साथै जिन्सी मालसामानको खातामा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको विबरण दाखिला गरेको बनाई बनाउन लगाई उक्त खातालाई प्रमाणित गरी सरकारलाई हानि पु¥याउने बदनियतले गलत लिखत तयार गरी/गराई कसुर गरेको पुष्टि हुन आयो’ अख्तियारको अभियोगपत्रमा उल्लेख गरेको थियो ।
सोही प्रकरणमा कुल २२ लाख ६१ हजार रुपैयाँभन्दा बढीको औषधि खरिदको भुक्तानी भएको थियो । तर १६ हजार ४१ लख रुपैयाँ मूल्य बराबरको औषधि मात्र वितरण भएको देखिएको थियो । बाँकी औषधि कहाँ रहेको भनी खुलाइएको थिएन । जसले गर्दा पालिकाको स्टोरमा पनि नभेटिएको विशेष अदालतले राय किताबमा उल्लेख गरेको छ ।