सरकारले ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको छ ।
गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् । जुम्लामा भने नियुक्ति भइसकेको नाम आउनमात्र बाँकी छ ।
७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७-३७ जिल्ला र ३ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।
सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिएपनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन । एमालेले पाएका मध्ये ३ र कांग्रेसले पाएका जिल्लामध्ये ३ जिल्लामा यस्तो विवाद रहेको छ ।