
जनकपुरधाम– वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरलाई ठगी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । सरकारी छाप तथा दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी दिएको आधारमा आरोपित पूर्वनिर्देशक ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार ठगी तथा दुरुपयोग आरोपमा अनुसन्धानका लागि ललितपुर परिसरको सहयोगमा ठाकुरलाई भैंसेपाटीबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । उनलाई जनकपुरधाम ल्याएर अनुसन्धान अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ । आरोपित पूर्वनिर्देशक ठाकुरसँगै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अन्य तीनजना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ ठगी गरेका थिए ।
ठगी प्रकरणमा संलग्न रहेका ठाकुरसहित वृहत्तर जनकपुर लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी थिए । उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा गत मंसिरमै जाहेरी परेको थियो । वृहत्तर जनकपुरमा हिनामिना, पूर्वनिर्देशक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी जाहोरी दर्ता भएपछि धनुषा जिल्ला अदालतले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।
अदालतको सो आदेशपछि पूर्वनिर्देशक ठाकुर फरार रहँदै आएका थिए । जाहेरी दर्ता भइसकेपछि जिल्ला अदालतले पक्राउ गर्न आदेशसमेत दिइसकेको छ अवस्थामा ठाकुरसहितलाई पक्राउ गर्न खोजी भइरहेको प्रहरीले जनाउँदै आएको थियो । महोत्तरी जिल्ला एकडारा गाउँपालिका बस्ने मुकेश यादवको नाममा विभिन्न मितिको हुँदै नभएको गाडी भाडावापत २०७६ असार ३१ गते किर्ते सम्झौता पत्र र कार्यदेश तयार गरी ३० लाख रुपैयाँ वृहत्तर जनकपुरको खाताबाट निकालेको थियो । रकम निकालिएको जानकारी यादवले पछि थाहा पाएका थिए । आफ्नो नाममा किर्ते गरी रकम निकालेको थाहा पाएपछि यादव प्रहरीमा गएर जाहेरी दिएका थिए ।
आफ्नो दस्तखतसमेत किर्ते गरी भएको भ्रष्टाचार प्रकरणमा यादवले प्रमाणसहित प्रहरीमा जाहेरी दिएका थिए । यादवले दिएको जाहेरीपछि उनले आफ्नो नामको निवेदनसमेत वृहत्तर जनकपुरका कर्मचारीले बनाएको बताएका छन् । यादवले आफूले रकम बुझेको गोश्वारा भौचर, आफ्नो नाममा बनाएको चेक नं. ३६४२४९४१, पेश्की फछ्र्यौटको लागि दिएको निवेदन पत्रसमेतमा कर्मचारीहरूले दस्तखत किर्ते गरी हिनामिना गरेको थियो । त्यतिबेला आफ्नो नाममा हुँदै नभएको महिन्द्रा कम्पनीको डिजेलबाट चल्ने स्कार्पियो चार चक्के गाडी सिलिन्डर ४ : २१७९ हर्ष पावर सी.सी.एम.ए आइ.टी.ए.जे एक्स ९२ एच २४१२३ इन्जिन नं. क्युएम्यु१४एच२४१२३ सिट क्षमता–८ प्रयोग गरेको कागजपत्र वृहत्तर जनकपुरका पदाधिकारी र कर्मचारीले बनाएर रकम हिनामिना गरेको ब्यहोरा यादवले दिएको जाहेरीमा लेखिएको छ ।
निजी प्रयोगमा रहेको बा. १६ च. ६४७ नं. प्राइभेट जिप आफ्नो नाममा नरहेको अवस्थामा पनि सरकारी छाप, दस्तखत, किर्ते गरी सहमति भएको देखाई विभिन्न कागजात तयार गरेर २०७६ असोज ७ गतेको गोश्वारा भौचार नं. २६ बाट मर्मतको लागि पेश्की १० लाख रुपैयाँ प्राप्त गरेको देखाएर हिनामिना गरिएको विवरण यादवको जाहेरीमा छ ।
१० लाख रुपैयाँ प्राप्त गरेको देखाएपछि फेरि अर्को दस्तखतसमेत किर्ते गरी बाँकी रकमको एउटा निवेदनको मिति केरमेट गरी २०७७ असार ३० गतेको को दर्ता नं. समेत प्रष्ट नबुझिएको निवेदनसमेतमा बाँकी रकम दिने भनि तत्कालीन कार्यकारी निर्देशकले आर्थिक प्रशासन शाखाको नाममा तोक आदेश गरिएको व्यहोरा जाहेरीमा छ ।
तत्कालीन कार्यकारी निर्देशक ठाकुरले आफ्नो दस्तखतसमेत गरी निवेदनको पुछारमा निवेदक मुकेश यादव जनकपुर लेखेर निवेदन पत्रमा उल्लेखित मितिसमेत केरमेट गरी त्यसको मुनि एकडारा–८ उल्लेख गरी आफ्नो किर्ते दस्तखत गराई सरकारी रकम निकासा गरी गरेको भेटिएको यादवले जाहेरीमा लेखेका छन् ।
हिनामिनाका क्रममा यादवको नामबाट किर्ते दस्तखत गरी गराई पूर्वनिदेशक ठाकुरले एक वर्षको भाडा दैनिक ५ हजार रुपैयाँका दरले लिएको, डिजेल, मोबिल, चालकको खर्चसमेत बुझ्ने गरेको जिकिर यादवले जाहेरीमा गरेका छन् । यता वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा केही वर्षयता कार्यकारी निर्देशक र कर्मचारीहरूबीचको मनमुनाटवले कार्यालयको दैनिक काम प्रभावित छ ।