अपडेट 
२०८१ माघ २, बुधबार १३:४१

पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलित बनेका छन् ।

मिर्चैया बजारका स्थानीय र व्यापारीहरूले बिहान करिब १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग निर्माणमा ढिलासुस्ती गर्दा समस्या झेल्नुपरेकाले आन्दोलन गर्नुपरेको स्थानीय व्यापारीहरुको भनाई छ ।

निर्माणमा ढिलाइ गरेको र अहिले सडक झन् बिग्रेकोले राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् ।

राजमार्ग निर्माणमा भएको ढिलाइका कारण धुलोले स्वास्थ्यमा समस्या भएको भन्दै गतवर्ष माघ २२ मा पनि मिर्चैयाकै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए । तर पनि सडक निर्माणको कामले गति नलिँदा उनीहरू फेरी आन्दोलन थालेका हुन् ।

आन्दोलनका कारण सयौँ सवारी साधनहरू अलपत्र परेका छन् । स्थानीय प्रहरीले राजमार्ग खुलाउन प्रयासरत छन् । सवारी साधनको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर चार लेन राजमार्ग निर्माणको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले लिएको छ । सो ग्रुपले निर्माण कार्य समयमा गर्न नसक्दा पटक पटक म्याद थपिदा पनि लापरबाही गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News