
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको छ।
बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौंकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौंदेखि नवौं बैठकको बीचको गम्भीर समीक्षा भएको जानकारी दिए।
उनले समाजवादी मोर्चाको कार्यक्रमहरू केही धिमा भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको बताए।
उनले भने, ‘आठौंदेखि नवौं बैठकको बीचको गम्भीर समीक्षा समाजवादी मोर्चाले गरेको छ। यो बीचमा सुरूमा समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठूलो ह्वीम क्रिएट भएको थियो। कम्युनिष्ट क्रान्तिकारी, देशभक्तहरूमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो। त्यसको सशक्त रूपमा आओस् भन्ने थियो। यो बीचमा हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो। त्यो धिमा हुनुमा हाम्रा आफ्ना केही सीमा रहे भनेर गम्भीर समीक्षा गरेका छौं। आगामी दिनमा त्यो दोहोरिन नदिने प्रतिवद्धता छ। आगामी माघ १६ गते काठमाडौंमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने।’
उनले बैठकबाट समाजवादी मोर्चाका आगामी कार्यक्रमका योजनाहरु मुख्य नेताहरूलाई बुझाउने निर्णय भएको बताए।