२०८१ माघ ३, बिहीबार ०८:४६

जानकी मन्दिरको सौन्दर्यकरणको नाममा प्रांगणमा लगाइएको टाइल्स् तथा मार्बल ३ वर्ष नबित्दै फुट्न थालेको छ ।

मन्दिर सौन्दर्यकरणका लागि ७ करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो । स्थानीय युवा अखिल मढीलगायतकाहरुले यस परियोजनामा अनियमितता र गलत प्रवृत्तिहरू मौलाएको जनाएका छन् । उनले यस कार्यले गर्दा मन्दिरको ऐतिहासिकता र धार्मिक पवित्रता पनि धूमिल हुने प्रतिक्रिया दिएका छन् । उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने सपनालाई साकार बनाउन यस दुर्दशालाई तुरुन्त सुधार गर्नु जरुरी रहेको बताए । उनले मन्दिर परिसरमा ट्रक प्रवेश, भिआइपीहरुका अनैतिक सवारी प्रवेश र धार्मिक स्थानको पवित्रतालाई नमान्ने क्रियाकलापहरू यसको मुख्य कारक बनेको आरोप लगाए ।

उनले भने, ‘ जनकपुरधामवासी र सम्बन्धित तिनै निकायका सरकार, प्रशासन प्रमुख, लगायत त्यहाँका महन्तहरूले गम्भीरतापूर्वक सोच्न, ठोस कदम चाल्न र जानकी मन्दिरलाई व्यवस्थित, सफा एवम् पवित्र बनाउन तदारुकता देखाउनुपर्छ । जानकी मन्दिर हाम्रो संस्कार, धार्मिक आस्था र पहिचान हो । यसलाई सुरक्षित र व्यवस्थित राख्न सबैको भूमिका र योगदान अनिवार्य छ ।’ सौन्दर्यकरणको कामको गर्ने क्रममा मन्दिर परिसरमा रंगीचंगी मार्बल बिछ्याउने र ग्रेनाइटको प्रयोग गर्ने योजना बनाइयो ।

पुरातत्व विभाग र गुठी संस्थानले यसलाई मन्दिरको पुरातात्विक महत्वसँग मेल खानेगरी निर्माण गर्न निर्देशन दिएको थियो । विभागले सेतो मार्बलको प्रयोग र मन्दिरको वास्तुकलासँग मेल खाने शैलीमा निर्माण गर्न आग्रह गरेको थियो । तर निर्माण कम्पनीले यसका बाबजुद रंगीचंगी मार्बलको प्रयोग गरेको थियो ।

महालेखा परीक्षकको कार्यालयले पनि यस्ता अनियमिततालाई ‘गुणस्तरहीन र मापदण्डविपरीत’ ठहर गरिसकेको छ । मार्बल बिछ्याउने काममा भएको अनियमितता मात्र होइन, मन्दिर परिसरमा रंगीन बत्ती जडान र विद्युतीकरणको काममा पनि भ्रष्टाचारको गन्ध आएको छ । १२ करोड रुपैयाँको बजेटबाट सुरु गरिएको विद्युतीकरण परियोजनामा सोलार स्ट्रिट लाइट, स्पिकर, स्टेबलाइजर जस्ता सामग्री जडान गरिएका थिए ।

मन्दिरमा २४३ वटा चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ वटा, सोलार स्ट्रिट–लाइट १६ वटा, स्ट्रिट– लाइट ४८ वटा, स्पिकर ७४ वटा, ३० केभिएको स्टेबलाइजर र युपिएस लगायत सामग्री जडान गरिएको दाबी गरिएको छ । यसका बारेमा पनि अनियमितता र कमसल काम गरिएको आरोप लगाइएका छन् ।

स्थानीय युवाहरूले १२ करोडको काम भएको भनिए पनि २ करोडको काम मात्र भएको दाबी गरे । उनले जनकपुरधामको गर्व, जानकी मन्दिरको अवस्था जस्ताको तस्तै रहेको र यसका कारण मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वलाई गम्भीर जोखिममा परेको बताए । उनले भने, ‘भ्रष्टाचार गरी लगाइएका फुटेका टाइल्स, सफाइको अभाव र गैरजिम्मेवार व्यवहारले मन्दिरको पवित्रतालाई नष्ट गर्दैछ ।’

मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने सपनालाई साकार बनाउन तुरुन्त सुधार आवश्यक रहेको उनले बताए । मापदण्डविपरीत मार्बल लगाएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका थिए । विरोधपछि केही दिन काम रोकिएपनि फेरि अघि बढाएपछि केही युवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा उजुरी दिएका थिए ।

मार्बल ओछ्याउने काम भइरहेकै बेला अर्थ मन्त्रालयबाट स्वीकृत भई पर्यटन मन्त्रालयमार्फत ‘वृहत्तर जनकपुर विकास परिषद’ लाई झन्डै १२ करोड रूपैयाँ बजेट मन्दिरको विद्युतीकरणका लागि उपलब्ध गराइएको थियो । परिषद् र भक्तपुरको कम्पनी ’क्षमादेवी कन्स्ट्रक्सन सोलुसन प्रालि’ बीच २०७६ वैशाख २ गते सम्झौता भएको थियो । तर विद्युतीकरणमा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरुले उजुरी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News