अपडेट 
२०८१ माघ ४, शुक्रबार ०८:१७

मधेश प्रदेशमा मुख्यमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाउँदै सत्ता गठबन्धन दलका नेताहरुले आलोचना गर्न थालेका छन् ।

सत्तागठबन्धनका घटक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले कार्यक्षमतामाथि प्रश्न उठाउँदै तत्काल मार्गप्रशस्त गरिदिनका लागि मुख्यमन्त्री सतीशकुमार सिंहसंग आग्रह गरेका छन् । प्रदेशसभामा बिहीबारको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता सोनलले जनलोकल्याणकारी कार्य गर्न नसकेपछि विगतमा कतिपय प्रधानमन्त्रीहरुले स्वयम् समीक्षा गरी स्वेच्छाले पदबाट राजीनामा दिएर जनतालाई सहजता प्रदान गरेको स्मरण गरे । उनले सो कुरा मुख्यमन्त्री सिंहप्रति इंगित गर्दै जनताको जनकल्याणकारी कार्यमा सर्विस डेलेभरीको कार्य गर्न चुकिरहेको भन्दै मार्गप्रशस्त गरी प्रदेशवासीलाई सहजता प्रदान गर्न आग्रह गरे ।

नेता सोनलले भने, ‘ विगतमा मुलुकका कतिपय प्रधानमन्त्रीले पनि काम गर्न नसकेपछि स्वेच्छाले पद छाडेका छन्, अहिलेको प्रदेश सरकारले पनि काम गर्न सकिरहेको छैन, विकास निर्माणको काम, आर्थिक खर्चको काममा पनि उत्साहजनक अवस्था नहुँदा बडो विडम्वनापूर्ण स्थिति छ, गठबन्धन भित्र पनि सन्तुष्टि छैन, त्यही भएर आफ्नो स्वेच्छाले मार्ग प्रशस्त गरिदिन आग्रह छ ।’ जनमत पार्टी नेतृत्वको प्रदेश सरकारले पहिलेपहिले किसानको हक अधिकारका लागि अनेकन कार्यहरु गर्ने दाबी गर्दै मलखाको उद्योग कलकारखानाको स्थापना गरी किसानलाई राहत, युवालाई रोजगारी दिने प्रतिवद्धता गरे पनि सो कार्य गर्न नसक्नु बिडम्वना रहेको उनको भनाइ छ ।

नेता सोनलले मधेश प्रदेशमा किसानलाई मलखाद्यको लागि मोटो रकम तिरेर पनि सहजढंगले पाउन नसक्नु, सिचाँइको अवस्था झनै जटिल हुँदै जानुले प्रदेश सरकार उदांगिएको बताउँदै आफ् नो स्वमूल्यांकन गरी मार्गप्रशस्त गर्न जिकिर गरे ।

त्यस्तै नेकपा एमालेबाट निर्वाचित भएका प्रदेश सांसद लखन दास तत्माले मधेश प्रदेश सरकारको बेथिति चरम रहेको भन्दै दुखसो पोखेका छन् । आफ्नै पार्टी गठबन्धनको सरकार रहे पनि मधेश प्रदेश सरकारप्रति कटाक्ष गर्दै नेता दासले मधेश प्रदेश सरकारका दुई जना मन्त्री मनि माइन्डेड मनिस्टर रहेको टिप्पणी गरेका छन् । प्रदेश सांसद दासले मनि माइन्डेड मन्त्रीहरु रातभर खाने भोली फेरि खानका लागि बाटो खोज्ने प्रवृत्तिको रहेकाले उनीहरुबाट मधेश प्रदेशको विकास हुनेमा आफू आश्वस्त नरहेको बताए ।

सत्तागठबन्धनका घटक चार दलको बैठकबाट पुनः उपभोक्ता समिति व्यूत्याउँने गरी संकल्प प्रस्ताव ल्याउन लागेको भन्दै नेता दासले आपत्ति जनाउँदै उपभोक्ता समितिको नाममा विकासे योजना विक्रीवितरणको बाटो खोलेर दलाल ठेकेदारहरुको विगविगी बढ्ने आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News