अपडेट 
२०८१ माघ ४, शुक्रबार ०८:२७

मधेश प्रदेश सरकारले यही माघ ५ गते सातौँ बलिदानी दिवस मनाउने भएको छ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग दिएर सो दिवस मनाइने भएको छ ।

अर्थमन्त्री सुनिल कुमार यादवले शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी फाइलमा तोकादेश गरेसँगै यस वर्ष पनि आर्थिक सहयोग वितरण गर्ने छ । गएको पुस २९ गतेको मन्त्री परिषद्को बैठकले माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउने निर्णय गरेको थियो ।

गृह संचार तथा कानुन मन्त्रालय मातहत रहेका मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको आयोजना गर्दै आएको छ । बलिदानी दिवस मनाउनका लागि रातो किताबमै पाँच लाख रुपैयाँ बजेट छुटट्याएको थियो । तर आर्थिक सहयोगका लागि भने अर्थ मन्त्रालयको सहमति अनिवार्य छ ।

बलिदानी दिवसको अवसरमा मधेश आन्दोलनका शहीद परिवार, अंगभंग भएका र घाइतेलाई आर्थिक सहयोगसहित सम्मान गरेको थियो । विगतमा शहीद परिवारलाई तीन लाख रुपैयाँसहित सम्मान गरिएको थियो भने अंगभंग भएकालाई एकदेखि दुई लाखसम्म आर्थिक सहयोग उपलब्ध गराएको थियो । बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण निधि सांस्कृतिक प्रतिष्ठानमा मनाउने भएको छ ।

आठ वटै जिल्लाका शहीद परिवार र घाइतेहरुलाई जानकारी गराउने कार्य भइरहेको मधेशी शहीद प्रतिष्ठानले जनाएको छ । २०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।

माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । सो दिनलाई स्मरण गर्दै लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो । प्रदेश सरकार बन्नुअघि मधेश केन्द्रित दलहरुले आ– आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए ।

Comment


Related News

Latest News

Trending News