नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विचार र सिद्धान्त छाडेर व्यक्तिकेन्द्रित हुँदा पार्टीभित्र गुटबन्दी बढेको बताएका छन्।
गुटबन्दीकै कारण आफ्नाले आफ्नैलाई चुनाव हराउने प्रवृत्ति बढेको निधिको भनाइ छ।
कृष्णप्रसाद भट्टराई र विपी कोइरालाको सिद्धान्त र विचार खोज्न उनले कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
‘राजनीति बडारियो, गुटबन्दीको राजनीति भयो, आफ्नै पार्टीको साथीलाई आफ्नैले हराइदिएको छ,’ गोरखामा बिहीबार भएको कार्यक्रममा निधिले भने, ‘अब कांग्रेसले किसुनजी र विपीको सद्धान्त अनि विचार खोज्नुपर्यो, राष्ट्रियता र स्वतन्त्रताको बिचार खोज्नुपर्यो।’
२०८४ सालको निर्वाचनमा जितका लागि पनि गुटबन्दी अन्त्य गरेर अघि बढ्नुपर्ने उनले बताए।
कृष्णप्रसाद भट्टराई मेमोरियल फाउण्डेसनको आयोजनामा तीनधारेस्थित कांग्रेस पार्टी कार्यालयमा भएको कार्यक्रममा कांग्रेस पूर्वकेन्द्रीय सदस्य चिरन्जिवी वाग्ले, कांग्रेस केन्द्रीय चीनकाजी श्रेष्ठ, अब्दुल सतार, सरस्वती अर्याल, गण्डकी प्रदेश महामन्त्री किरण श्रेष्ठ लगायतको उपस्थित थिए।