२०८१ माघ ४, शुक्रबार १४:३५

प्रधानमन्त्री केपी शर्मा ओलीले काम रोक्नका लागि नभइ गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन्। सरकारले जारी गरेको अध्यादेश अबको १५/२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्रीले बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनासम्म देशका कामहरू रोक्न नहुने जिकिर गरे।

‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ। कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘१५-२० दिनभित्र संसद् आइसक्छ। संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं। त्यहाँ छलफल गर्छौं। र अगाडि बढाउँछौं।’

साथै, उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताउँदै विकासको काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको बताए।

‘एउटा देशको दुई महिना भनेको महत्त्वपूर्ण छ। अत्यन्त जरुरी कुराहरू खोल्न जरुरी छ। उद्यमी व्यवसायीहरू तड्पिएका छन्। हाम्रा नीतिहरू, कानुनहरू बन्नुपर्छ, काम गर्नका लागि, काम रोक्नका लागि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘रोक्न कानुन बनेका छन् भने त्यस्ता कानुनलाई फेर्न पर्दछ। कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्‍याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानुनहरू परिवर्तन गर्नुपर्छ।’

Comment

Related News

Latest News

Trending News