अपडेट 
२०८१ माघ ६, आईतवार ०८:२५

मधेश आन्दोलनको १८ वर्ष भएको स्मरण गर्दै मधेश केन्द्रित दलका शीर्ष नेतृत्वहरुले सिरहाको लहानमा शहीद रमेश महतोको शालिकमा माल्यार्पण गर्दै बलिदानी दिवस मनाएका छन् ।

मधेश आन्दोलनका अगुवा दलका नेतासमेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले एकात्मक शासन प्रणाली, विभेदकारी र अत्याचारमाथि दह«ो रूपमा प्रहार गरेको स्मरण गरे । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले मधेशको थप अधिकारका लागि सशक्त संघर्षको आवश्यकता रहेको बताए । उनले भने, ‘यो मुलुकमा थुप्रै राष्ट्रियता छ, सयौं जात र समुदाय छन्,’ उनले भने, ‘यो मुलुक यहाँ बसोबास गर्ने सबै जातजाति र भाषाभाषीहरूको साझा मुलुक नबनेसम्म संघर्ष गरिरहन आवश्यक छ ।’ अर्को प्रसंगमा उनले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताउँदै अध्यक्ष यादवले भने, ‘अहिलेको अवस्थामा सहकार्य हुँदैन । जोसँग सहकार्य गरेको छ उसैलाई पिँठ्यूमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्न भएपछि कुनै विश्वास छैन ।’

अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि भूमिका रहेको बताए । त्यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको टिप्पणी गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष महतोले भने– ‘मधेशले एकल नश्लीय औपनिवेशिक शासन विरुद्ध विद्रोह गरे पनि उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन । मधेशी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरे ।’ अध्यक्ष महतोले शहीदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए । उनले मधेश मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गरिनुपर्ने बताए । उनले मधेशी, थारु, पहाडका आदिवासी जनजाति, उत्पीडित खस, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिका लागि एकजुट भएर संघर्ष गर्न समेत सबैलाई आग्रह गरे ।

शहीद परिवारको आक्रोश

बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारमाथि शहीद परिवारहरूले आक्रोश पोखेका छन् ।

मधेश शहीद प्रतिष्ठानले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा शनिबार आयोजना गरेको सातौँ बलिदानी दिवसमा केही शहीद परिवारले खादा र आवतजावत भाडास्वरुप दिएको रकम आक्रोश पोख्दै फालेका छन् । शहीद तथा घाइते परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै भाडावापत एक हजार रुपैयाँ दिँदा उनीहरू आक्रोशित बनेका थिए ।

केही शहीद परिवारले दोसल्ला र रकमसमेत फालेका थिए । मधेश आन्दोलनका प्रति शहीद परिवारलाई ३ लाख रुपैयाँ, गम्भीर घाइतेहरूलाई दुई लाख, घाइतेहरूलाई १ लाख ५० हजार र एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । सो कार्यक्रममा शहीद परिवार तथा घाइतेलाई एक हजार मात्र दिएको भन्ने लागेपछि उनीहरूले दोसल्ला र रकम फालेर आक्रोश पोखेका थिए ।

सो कार्यक्रमा मुख्यमन्त्री सतीशकुमार सिंहले शहीद परिवार, घाइतेहरुका लागि निर्णय भए बमोजिमको रकम खातामा पठाइने र आवतजावतको खर्च मात्र एक हजार रुपैयाँ दिएको प्रष्ट पारेपछि शहीद परिवारजनहरु साम्य भएका थिए । उनले शहीदको बलिदानले नै देशमा संघीयता आएको र धेरै अधिकार अझै नपाइएको मुख्यमन्त्री सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News