मधेश कृषि विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र रजिस्ट्रार डा. भगवान ठाकुरसंग रहेको आर्थिक कारोबारसहितको अधिकार मधेश प्रदेश सरकारले खोसेको छ ।
जनमत पार्टी नेतृत्वको मधेश सरकारले मधेश कृषि विश्वविद्यालयमाथि अंकुश लगाउँदै बजेटसमेत कटौती गरेको अवस्थामा आर्थिक अधिकारसमेत खोसेर थप समस्या उत्पन्न गराएको छ । विश्वविद्यालय सभाको निर्णय भन्दै विश्वविद्यालयकी सहकुलपति, सभाकी अध्यक्ष तथा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले उपकुलपति महतो र रजिस्ट्रार डा. ठाकुरलाई दिइएको आर्थिक अधिकार खोस्दै शैक्षिक तालिम केन्द्र बाराका प्रमुख महेन्द्र महतोलाई जिम्मा लगाएपछि समस्या थप बल्झिएको छ ।
उपकुलपति र रजिस्ट्रार जसपा नेपाल नेतृत्वको लालबाबु राउत नेतृत्वको तत्कालीन प्रदेश सरकारले नियुक्त गरेका हुन् । प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले आफ् नो सामुदायिक कलेजको संरक्षण तथा व्यवसाय फस्टाउनका लागि प्रादेशिकस्तरमा सरकारी विश्वविद्यालयलाई धराप पार्नका लागि जनमत नेतृत्वको सरकारले सुनियोजित ढंगले संकटमा पार्न थालेको आरोप लागिरहँदा उपकुलपति महतो र रजिस्ट्रार डा. ठाकुरलाई हटाएको विषयलाई गम्भीर रुपमा शिक्षाविद्हरुले लिएका छन् ।
२०८० माघ ८ गते शिलान्यासका लागि विश्वविद्यालयले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत पार्टी उपकुलपति र रजिस्ट्रारबाट असन्तुष्ट रहँदै आएको छ । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार गठन भएपछि उपकुलपति महतो र रजिस्ट्रार डा. ठाकुरले अनियमितता गरेको भन्दै नीति आयोगका उपाध्यक्ष डा. साहको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो । विश्वविद्यालयको आर्थिक कारोबार ठप्प हुँदा नयाँ भर्नाको प्रवेश परीक्षासमेत हुन सकेको छैन ।