प्रत्येक वर्षको माघ ५ गते मधेश आन्दोलन भएको दिनको रुपमा मधेश केन्द्रित दलले मनाउँदै आएका छन् । यस दिनलाई मधेशको हक अधिकार, पहिचानसहितका एजेण्डा लिएर आन्दोलनको उद्घोष गरेको दिनको रुपमा केन्द्रित दलले बलिदानी दिवसको रूपमा मनाउँदै आएका छन् ।
मधेश आन्दोलनको बलमा लोकतान्त्रिक गणतान्त्रमक व्यवस्था परिमार्जित भइ संघीयता थपिएको थियो । प्रथम मधेश प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् वैठकबाट माघ ५ गतेलाई बलिदानी दिवसको रूपमा मनाउने औपचारिक निर्णय गरेको थियो । मधेश प्रदेश सरकारसहित विभिन्न मधेश केन्द्रित दलले माघ ५ गते विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाउँदै आएका छन् । अहिले मधेश प्रदेशको सरकारको अगुवाइ जनमत पार्टीले गरिरहेको छ ।
जनमतले पनि विगतको सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्दै शनिबार मधेश आन्दोलनको स्मरणमा बलिदानी दिवस मनाउँदै जानकी मन्दिरमा दीप प्रज्वलन गरेको छ । शहीदहरूको बलिदानको बलमा मुलुकमा संघीय लोकतान्त्रिक गाणतान्त्रमक व्यवस्था आएको भन्दै शहीदहरूको स्मरणमा मधेश सरकारले जानकी मन्दिरमा दीप प्रज्वल्न कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै मधेश केन्द्रित दलको रुपमा रहेका जनता समाजवादी पार्टी(जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टीसहितका दलहरूले प्रदेशव्यापी रुपमा मधेश आन्दोलनकोका प्रथम शहीद रमेश महतोको शलिकमा माला आर्पणदेखि विविध कार्यक्रम गरी मनाएका छन् । त्यतिबेलाको माघ ५ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले मधेशव्यापी बन्दको घोषणा गरेको बेला माओवादी नेता मातृकाप्रसाद यादव चढेको गाडी सिराहाको लहान पुग्दा प्रदर्शनकारी र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनमा सहभागी रमेश महतोको मृत्यु भएको थियो ।
मधेश आन्दोलनको पहिलो शहीद महतो बन्न पुगे । महतोको मृत्युपछि मधेश आन्दोलन थप चर्कियो । आन्दोलन बढ्दै गएपछि माघ १७ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निर्वाचन क्षेत्र थप्ने तथा संविधानमा वर्ग समुदायको प्रतिनिधित्व हुने भन्दै बन्द फिर्ता लिन आग्रह गरे । तर आन्दोलनकारीहरूले आफ्नो माग पूरा नभएको भन्दै अन्दोलनलाई जारी नै राखे । माघ ३ देखि शुरु भएको आन्दोलन माघ २४ मा पुग्दा तत्कालीन प्रधानमन्त्री कोइरालाले दोस्रोपटक राष्ट्रको नाममा सम्बोधन गर्दै आन्दोलनकारीहरूको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि माघ २५ देखि १० दिनसम्मका लागि आन्दोलन स्थगित भएको थियो ।
त्यो बेलासम्म मधेशमा ४० भन्दा बढीको मृत्यु भइसकेको थियो । त्यसपछि वार्ताका लागि राज्यले महन्थ ठाकुरको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । तर वार्ता समितिलाई सामान्य अधिकार नदिएको भन्दै उपेन्द्र यादवसहितका आन्दोलनरत पक्षले वार्तामा बस्न अस्वीकार गरे । त्यसलगत्तै राज्यले कांग्रेसका नेता रामचन्द्र पौडेल (वर्तमानमा राष्ट्रपति)को संयोजकत्वमा पुनः वार्ता समिति बनाएको थियो । त्यतिबेला २२ बुँदे सम्झौता भयो र त्यसलगत्तै सो सम्झौता धोका भएको भन्दै मधेशी जनअधिकार फोरम नेपालबाट अलग हुँदै भाग्यनाथ गुप्तासहितले मधेशी जनअधिकर फोरम मधेश गठन गरी दोस्रो मधेश आन्दोलनको तयारी थाले ।
त्यसपछि नेपाल सदभावना पार्टी आन्दोलनमा जोडिएको थियो । तर २२ बुँदे सम्झौता कार्यान्वय नभएको भन्दै फोरम नेपालले पनि उनीहरूसँग मिलेर आन्दोलनको तयारी गरेको थियो । दोस्रो मधेश आन्दोलनका लागि नेपाल सद्भावना पार्टी र फोरम नेपाल मिलेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको गठन गरेको थियो । त्यसपछि काग्रेस परित्याग गरी महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरी मोर्चामा सहभागी भए । तमलोसपाको सहभागी भएपछि सो मोर्चालाई संयुक्त लोकतान्त्रिक मधेशी मार्चा नामकरण गरेको थियो । त्यसपछि फागुन १६ मा सरकार र मोर्चाबीच ८ बुँदे सहमति भएको थियो ।
सो सहमतिअनुसार दलहरू संविधानसभाको निर्वाचनमा सहभगी भए । पहिलो संविधानसभाको निर्वाचनमा फोरम नेपालले ५२, तलोपाले २० र नेपाल सदभावना पार्टीले ९ सिट जितेर इतिहास रचेको थियो । तर अहिले संसदमा मधेश केन्द्रित दलहरूको उपस्थिति प्रभावकारी छैन । मधेश आन्दोलनकै माग र जगमा देश संघीयतामा प्रवेश गरेको थियो र मधेशमा मधेश केन्द्रित दलहरूकै सरकार बनाएको थियो । तर मधेश केन्द्रित दलहरूमा सत्ता स्वार्थका कारण आएको विभाजन र प्रदेश सरकारले देखाउन नसकेको क्षमताका कारण जनताले अपेक्षाअनुसार संघीयताको मर्मअनुसार सेवा नपाएको गुनासो छ ।
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवले मधेशी जनताप्रति राज्य अनुदार प्रवृति तथा राज्यको मुल नेतृत्वमा केन्द्रित मानसिकता हाबी भएको कारण मधेश आन्दोलन अर्थपूर्ण रहेको दाबी गरे । मधेश आन्दोलनले एक खाका कोर्न सफल भए पनि त्यसलाई मूर्तरुप दिन थप अन्दोलनको आवश्यकता रहेको उनले बताए । २०७२ सालमा संविधान संशोधनको माग गर्दै भएको ६ महिने आन्दोलनमा सबैभन्दा चर्चामा रहेका पात्र तथा नवगठित रष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेशी जनताले एक्लै आन्दोलन गर्दा राज्यको सामु शक्ति पुगेन्, मधेश आन्दोलन असफल हुन पुगेको जिकिर गरे ।
मधेश आन्दोलनमा राज्यद्वारा भएको दमनलाई जेनेभामा पु¥याएर मधेश अन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्ने काम पनि भएको थियो । राजनीतिक विश्लेषक रोशन जनकपुरीले मधेश आन्दोलन पूर्णरूपमा सफल नभए पनि आंशिक रूपमा सफलता मिलेको बताए । उनले मुलुक संघीयतामा गएको र प्रदेश सरकारहरू गठन भई कार्यहरू अगाडि बढाएकै बताउँदै जनकपुरीले मधेश अन्दोलन र मधेशी शहीदको सपना थियो त्यो अनुसारको अधिकार अझै पाउन सकिएकौ नसकिएको बताए ।
मधेश केन्द्रित दलहरू सत्तामा पुगेपछि मधेश आन्दोलनको मुद्दा छोडने र सत्ता बाहिर हुँदा उठाउने गर्ने उनको भनाइ छ । जनकपुरी भन्छन्, ‘त्यसकारणले पनि मधेश केन्द्रित दलहरूमाथि मधेशी जनताको विश्वास घट्दै गएर शक्ति पनि कमजोर हुँदै गएको छ ।’ राजनीतिक विशलेषक चन्द्र किशोरले मधेश अन्दोलनको लक्ष्य पूरा नभए पनि मधेशको एजेण्डा जीवित रहनु ठूलो उपलब्धि रहेको बताए । उनले मधेश अन्दोलन अझै नसकिए पनि आन्दोलनको झिल्को अझै रहेको बताए । आगो ननिभेको भन्दै चन्द्रकिशोरले फेरि पनि मधेश आन्दोलनले बिस्फोट हुन सक्ने ठोकुवा गरे ।