जनकपुरधाममा भारतीय मोटरसाईकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ मा तीन जना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।
शनिबार साँझ ५ बजे जनकपुर–जलेश्वर सडकखण्डमा जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरमा सवार महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ६० वर्षीया राजमरी देवीको गम्भीर घाइते भएकी थिइन । उनलाई विराटनगरको नोबेल अस्पतालमा रेफर गरिएकोमा उपचारको क्रममा आईतबार (आज) बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालकसहित त्यसमा सवार तीनजना भने सामान्य घाइते भएका छन् । भारतको जिल्ला सितामढी ददरी बस्ने २९ वर्षीय संजित साह, चालकको श्रीमती २४ वर्षीया रूबी साह र मोटरसाइकलमै सवार जनकपुर उपमहानगरपालिका ४ बस्ने कृपाल साहका छोरा १६ वर्षीय सुशान्त साह सामान्य घाइते भएका हुन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।