रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणको मुद्दा आइतबार अपरान्ह रुपन्देही जिल्ला अदालतमा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दर्ताका लागि पठाएको फाइल रुजु गरेर दर्ता गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीले बताए । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दता भएको हो ।
संगठित रुपमा ठगीको कसुरको यो मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो ।
लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता भएको सूचना अधिकारी मरासिनीले बताए । यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।
तर, उनीहरुमध्ये १७ जनाविरुद्ध थप अभियोगसमेत लगिएको छ । यसअघि नै सहकारी ठगीको मुद्दा लगिएका मध्ये केहीलाई पूरकअभियोगमा पनि प्रतिवादी बनाइएको छ। उनीहरुलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ ।
मरासिनीका अनुसार जीवी राईलाई ५१ करोड १ लाख र लामिछानेसहितलाई १० करोड १९ लाख ३६ हजार बिगो राखिएको छ ।
पूरक अभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन् । पहिलो चरणको मुद्दामा ८६ करोड रुपैयाँ बिगो कायम गरिएको थियो । प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो ।
रवि लामिछाने र छविलाल जोशीसहित पूरकअभियोगमा प्रतिवादी छन् । मुद्दा दर्ता भएसँगै अब उनीहरूले रुपन्देही अदालतमा उपस्थित हुनु पर्नेछ । उनी सोमबार नै आउने तयारी गरेको उनी निकटका कानून व्यवसायीले बताएका छन् ।
यसअघि रविलाई कास्कीको सूर्यदर्शन सहकारीमा ६५ लाख रुपैयाँ र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख रूपैयाँ धरौटीमा रिहा गरिएको छ । त्यस्तै छविलाई सूर्यदर्शनमा ८८ लाख रुपैयाँ र स्वर्णलक्ष्मी सहकारीमा अहिले थुनछेक बहस भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रूपैयाँको बिगो माग दाबी गरिएको छ । त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रूपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।