राजर्षि जनक विश्वविद्यालय केन्द्रिय क्याम्पस जनकपुरधामका विद्यार्थीहरुले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको पुत्ला दहन गरेका छन ।
नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले आयोजन गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टिमको नाम समावेश गरेपनि अन्तिम समयमा हटाएको भन्दै आईतबार जनकपुरधामको रामानन्द चोकमा विद्यार्थीहरुले पूर्व प्रधानमन्त्री देउवा र काँग्रेस नेता विमलेन्द्र निधिको पुत्ला दहन गरेका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरुले नेविसंघ विरुद्ध नारावाजी गर्दै नेता देउवा र निधीको पुत्ला दहन गरेका छन् ।
आयोजकले शुरुमा राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाएपनि पछिल्लो समयमा नाम हटाएपछि विद्यार्थीहरु आन्दोलित भएको विद्यार्थी नेता श्याम साहले बताए । उनले शनिवार विहानसम्म खेल तालिकामा राजर्षि जनक विश्वविद्यालयको नाम समावेश रहेपनि अन्तिम समयमा नाम हटाएको आरोप लगाएका छन । नेपाल विद्यार्थी संघकै आग्रहमा राजर्षि जनक विश्वविद्यालयले प्रशिक्षक नियुक्त गर्नुका साथै खेल सामग्री समेत खरिद गरेर टोली पठाउने अन्तिम तयारीमा रहेको अवस्थामा खेल तालिका बाट नाम हटाएपछि नेविसंघ विरुद्ध आन्दोलन गर्नु परेको विद्यार्थी नेता साहले बताएका छन ।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरुहुने प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोली सहभागी रहेका छन ।