नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सदभावको सन्देश फैलाउन सकिने बताएका छन्।
सोमवार त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा शुरु भएको अन्तरराष्ट्रिय अन्तर विश्वविद्यालय टी-२० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले पछिल्लो दुई दशकदेखि नेपाल क्रिकेटमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताए।
उनले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए। क्रिकेटबाट अन्तरराष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ।
‘संसार आज आक्रान्त छ। तपाईंहरुले क्लाइमेट चेन्जको बारेमा थाहा पाउनु नै भएको छ। खेलकुदमार्फत विश्वमा शान्ति र सदभावको सन्देश फैल्याउन सकिन्छ‚’ उनले भने, ‘पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको छ। यसले संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडीको रुपमा सहयोग गर्नेछ। क्रिकेटबाट अन्तरराष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्नेछ।’
खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास उनले व्यक्त गरे। उनले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए।
प्रथम राष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्ने बताए। उनले हमासले बन्दी बनाएका नेपालका विपिन जोशीको रिहाईको आग्रहसमेत गरे।