अपडेट 
२०८१ माघ ८, मंगलवार १४:४१

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ।

क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको अर्थ क्यानले आयोजना गर्ने प्रतियोगितामा लामिछानेलाई एक खेल खेल्नबाट प्रतिबन्ध गरिएको हो।

क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।

सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए।

सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए। जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गतल निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

खेलमा बागमतीका शुभ कंसाकार आउट भएलगत्तै दिनको खेल सकिएको घोषणा गरेको विषयमा सन्दीपले आपत्ति जनाएका थिए।

खेलको अम्पायर विनयकुमार झा र हिरालाल राउत थिए।

विकेट लिएको पनि अंक जोडिने हुँदा आफ्नो विकेट गुमेपछि दिनको खेल समाप्ति घोषणा गर्दा उनले असन्तुष्टि पोखेका थिए भने मैदानमा अम्पायरहरूसँग वादविवाद गरेका थिए।

खेलको भोलिपल्ट उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदम नचालिए गलत निर्णय हुने र खेलाडीहरू पीडित बन्ने भनेर लेखेका थिए। त्यसपछि म्याच अम्पायर र प्राविधिक समितिले सन्दीपले अनुशासन उल्लङ्घन गरेको भन्दै उनलाई तीन डिमेरिट अंक दिएका  थिए। त्यसमा उनले असन्तुष्टि जनाएका थिए।

नियमअनुसार अम्पायरको निर्णय चित्त नबुझे लामिछानेले क्यान र टेक्निकल कमिटीमा अपिल गर्न पाउँछन्।

Comment


Related News

Latest News

Trending News