जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नराम्ररी बिच्किएका छन् । उनी विपक्षी दलहरुको मोर्चामा प्रचण्डकै कारण सहभागी नहुने जनाएका छन् ।
प्रचण्ड नेतृत्वकै सरकारमा आफू पनि मन्त्री भएको बेलामा शक्तिको दुरुपयोग गरी आफ्नो दल विभाजन गराएको भन्दै यादव प्रचण्डसंग अब सहकार्य नगर्ने निष्कर्षमा पुगेका छन् । उनले आफूनिकट नेताहरुसंग पनि प्रचण्डले आफूलाई पछाडिबाट छुरा हानेकोले अब कुनैपनि हालतमा सहकार्य नगर्ने अडान भन्ने गरेका छन् ।
पछिल्लो समय यादवलाई फकाउनका लागि माधवकुमार नेपालले पनि पहल गरेका थिए । मोर्चाको संयोजकको जिम्मेवारीमा रहेका नेत्रविक्रम चन्दले पनि उनलाई मनाउन निकै प्रयास गरे । माधव नेपाल र विप्लव दुवैले तत्काल यादव समाजवादी मोर्चामा नफर्किने भन्दै प्रचण्डलाई जानकारी गराइसकेका छन् । सरकारविरुद्ध प्रचण्डले खडा गरेको विपक्षी मोर्चामा ८० जना सांसद छन् ।
तर यादवले भने आफू समाजवादी मोर्चा र संसद्को विपक्षी गठबन्धनमा पनि नजोडिने भन्दै प्रचण्डलाई जानकारी गराएका छन् । उनी मधेश प्रदेशको सरकारको नेतृत्वका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओलीसंगको निरन्तर संवादमा रहेको बालुवाटार स्रोतले जनाएको छ । यादवले यसबीचमा भारत भ्रमण पनि गरेका थिए ।
भारत बसाईको क्रममा उनले अखिलेश यादवसंग भेटेका थिए । यादवले एकातिर संविधान पुनर्लेखन र थ्रेसहोल्डको विपक्षमा पनि बोल्ने गरेका छन् भने प्रधानमन्त्री ओलीसंग पनि नजिक भएका छन् ।