अपडेट 
२०८१ माघ ९, बुधबार १५:४१

सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा यहि माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै सहलगानीसम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

बैठकले एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ भने जग्गा प्राप्ती तथा अचल सम्पती अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तीक स्वीकृत प्रदान गरिएको सरकारका प्रवक्ता गुरुङले बताउनुभयो ।

मन्त्रिपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको कार्याविधि ३५ दिन थप गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ भने सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

Comment


Related News