अपडेट 
२०८१ माघ ११, शुक्रबार ०८:१४

धनुषा र रौतहटका केही पालिकाले अत्यधिक चिसो बढेको भन्दै सामुदायिक विद्यालय बन्द गरेको छ ।

जनकपुरधाम र रौतहटको गौर नगरपालिकाका सामुदायिक विद्यालय तीन दिनसम्मका लागि बन्द गरिएको छ । जनकपुरधाममा अत्यधिक चिसो बढेपछि स्थानीय सरकारले विद्यालयहरुमा धमाधम बिदा दिन थालेको छ । विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्र लाल कर्णले बिहीबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । दुई दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित वर्षे बिदावाट कट्टा गर्ने व्यवस्था मिलाइएको उनले बताए । अत्यधिक जाडोको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै माघ ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म जम्मा २ दिन वर्षे बिदावाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यवाहेक पठन–पाठन बन्द रहने उनले बताए ।

त्यस्तै रौतहटको गौर स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा थप ३ दिन बन्द हुने भएको छ । जिल्लाको गौर नगरपालिकाले नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई माघ ८ गते मंगलवार देखि माघ ११ गते शुक्रवारसम्म जाडो बिदा गर्न निर्देशन दिएको छ । पछिल्लो केही दिनदेखि बढेको अत्यधिक चिसोको कारण विद्यालयमा पठनपाठनमा कठिनाइ हुने तथा विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने हुँदा बिदा दिइएको नगर शिक्षा संयोजक उत्तम कुमार उपाध्यायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो केही दिन देखि बिहानै देखि चल्ने सितलहर संगै दिनभरी हुस्सु लाग्ने र घाम समेत नलागेर बढेको अत्यधिक चिसोको कारण रौतहटसँगै सिंगो मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ ।

Comment


Related News

Latest News

Trending News