अपडेट 
२०८१ माघ १२, शनिबार ०८:५२

मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । जनकपुरधाममा शुक्रबार अभियानको शुरुवात माघ १४ गतेरदेखि हुने जानकारी गराउँदै मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको छ ।

मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले सो अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको बताए । उनले मिटरव्याजविरूद्ध आन्दोलनको विस्तार गर्दै सो अभियानलाई अदालतविरूद्ध पनि चरम रूपमा अघि बढाइने बताए । उनले मिटरव्याजविरूद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाइ भइरहेको र यस मुद्दामा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितहरूको मुद्दा समाधान नभएको बताए । उनले राज्यको प्राथमिकतामा मिटरव्याज पीडितहरूको मुद्दा नरहेको भन्दै यही स्थिति जारी रह्यो भने आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनीसमेत बताए ।

त्यस्तै मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज कुमार पासवानले सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी थालिएको बताए । उनले देशभर मिटरव्याज पीडितहरू शोषणमा रहेका बताए । उनले मिटरव्याजको समस्यालाई पहिचान गर्न गठन गरिएको कार्यदलले कुनै कार्य परिणाम नदिएको बताए । उनले राज्यका निकायहरूले पीडितलाई झनै पीडित बनाएको आरोप लगाए । उनले मिटरव्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरूद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको बताए ।

मिटरव्याज पीडितहरूको जनजागरण अभियानको कार्यक्रम माघ १४ गते जनकपुरधाममा हुने वृहत घोषणा सभामा सार्वजनिक गरिने उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News