जनता समाजवादी पार्टी (जसपा) नेपालले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गरेको छ ।
पार्टीका प्रवक्ता मनिषकुमार सुमनले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनकारीमाथि भएको प्रहरी कारबाहीको विरोध गरेको हो ।
‘शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गरिएको यो घटना अत्यन्त निन्दनीय तथा भर्त्सनायोग्य छ,’ विज्ञप्तिमा भनिएको छ ।
पाथीभरा क्षेत्रको स्थानीयवासीको भाषा, धर्म, अधिकार तथा पहिचान मेटिने भन्दै पहिचान पक्षधरले ‘नो केबलकार आन्दोलन’ गर्दै आइरहेका छन् । आन्दोलनकारीमाथि प्रहरीले शनिबार साँझ गोली प्रहार गर्दा यमबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा लगायत गम्भीर घाइते भएका छन् । यस घटनाप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पार्टीले घाइते आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबै घाइते आन्दोलनकारीहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ ।