झुटो वन मुद्दा विरुद्ध नेकपा माओवादी केन्द्र सर्लाहीले मोटरसाइकल ¥याली सहित डिभिजन वन कार्यलय घेराउ गरेको छ । आइतबार मोटरसाइकल ¥याली सहित जिल्लाका विभिन्न स्थानबाट पुगेका सुकुम्बासी, स्थानीय तथा माओवादी केन्द्रका नेता कार्यकर्ताले नारावाजी सहित डिभिजन वन कार्यलय घेराउ गरेका हुन् ।
बागमती नगरपालिका–४ र १२ मा निर्माणाधीन रहेको भरत ताल, नगर बगैँचा र नगरले सुकुम्बासी व्यवस्थापन गरेको विषयमा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिला कुमारी मोक्तान सहित केही कर्मचारी विरुद्ध डिभिजन वन कार्यलयले मुद्दा दर्ता गर्ने तयारी गरेको हो । हुँदै नभएको कपोकल्पित मुद्दा बनाएर फसाउन खोजेको भन्दै नागरिक आन्दोलित भएका माओवादी केन्द्रका सर्लाही इन्चार्ज अच्युतम काफ्लेले बताए ।
राजनीतिक प्रतिशोध साधेर सरकारले जनप्रिय मेयर र उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोजेको पार्टीको आरोप छ । पूर्व निर्धारित विरोध कार्यक्रम अन्तरगत सर्लाहीले पूर्व पश्चिम राजमार्ग स्थित पश्चिममा बागमती पुतली चोक देखी पूर्वमा फूलजोर खोला पुल सम्म सयैँको सङ्ख्यामा मोटरसाइकल ¥याली सहित प्रदर्शन गरेको माओवादी केन्द्रले जनाएको हो ।
मोटरसाइकल ¥याली पछि केही बेर लालबन्दीमा रहेको डिभिजन वन कार्यालय घेराउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन् । स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था अनुसार बागमती नदीले छाडेको नदि उकास जमिनलाई तालमा रूपान्तरण गरेर नगरको आयआर्जन पर्यटकीय र वातावरणीय हिसाबले प्रयोग गरेको कुरामा अनेक प्रपञ्च रच्ने काम भएको पार्टीको दावी छ ।
जनप्रतिनिधि निर्वाचित हुनु पूर्व नै सागरनाथ वन परियोजना र डिभिजन वन कार्यलयले राखेका सुकुम्बासीलाई स्थानीय सरकारले व्यवस्थापन गरेको विषयलाई अतिरञ्जित तुल्याएर अतिक्रमणको झुटो मुद्दा लगाउने काम तत्काल बन्द गर्न समेत पार्टीले जोडदार माग गरेको हो । यसै विषयमा माओवादी केन्द्रले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
पार्टीले सरकारी षड्यन्त्र विरुद्ध मोटरसाइकल ¥याली, वन कार्यालयमा विरोध प्रदर्शन, धर्ना, मशाल जुलुस, जनसभा, बन्द र आम हड्ताल सम्मका कार्यक्रम यस अघिनै घोषणा गरेको छ । स्थानीय सरकारले गरेको विकास देख्न नचाहने विरुद्ध आफूहरू कडा रुपमा सङ्घर्षको कार्यक्रममा जाने पार्टीका स्थाई कमिटी सदस्य प्रल्हाद बुढाथोकीले बताए ।
यता सङ्घीय तथा प्रदेशको वन मन्त्रालयले बागमतीमा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) र आसपासको क्षेत्रमा बसेको बस्ती सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रभित्र पर्ने/नपर्ने भनी अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई पत्र पठाएको थियो । मन्त्रालयबाट पत्र प्राप्त भएपछि अनुसन्धान अधिकृत तोकेर पोखरी निर्माण भएको स्थल तथा आसपासको वस्ती वन क्षेत्रभित्र पर्ने नपर्ने वा संरचना निर्माणका क्रममा स्वीकृत लिए/नलिएको अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले बताए ।
झाले मन्त्रालयबाट अनुसन्धान गर्नु भनी निर्देशन आएको क्षेत्रमा डिभिजन वन कार्यालयको टोलीले आवश्यक अनुसन्धान तथा सरोकार राख्ने व्यक्तिसँग सोधपुछ गरेर सरकारी वकीलको कार्यालयलाई फाइल बुझाउने जानकारी दिए ।