मधेशकेन्द्रित राजनीतिक दलहरूले मोर्चा गठन गर्नका लागि आठ सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।
सोमबार बसेको आठवटा राजनीतिक दलका नेताहरूको बैठकबाट आगामी बिहीबारसम्म प्रत्येक दलबाट कार्यदलमा रहने एक/एक जना नेताको नाम टुंग्याउने निर्णय गरिएको छ ।
मधेश केन्द्रित दल सम्मलित मोर्चाका गतिविधिमा सक्रिय राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जनाए अनुसार बिहीबारसम्म कार्यदल गठन सबै दलका अध्यक्षसहितको बैठक बस्ने जनाइएको छ । सो कार्यदलले मोर्चाको अवधारणा, एजेन्डा र मोडल तय गर्ने छ । झाले भने, ‘अवधारणा, एजेन्डा, मोडल तयार गरेर सबै अध्यक्षसँग छलफल गरेर बैठक गर्ने निर्णय भएको छ ।’ उनले सोमबार बैठकमा जनता समाजवादी पार्टीबाट रेणु यादव, जसपा नेपालबाट मनिष सुमन, जनमत पार्टीबाट अब्दुल खान, लोसपा नेपालबाट सवेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट लालवीर चौधरी र गंगा चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा र सन्तोष मेहता, जनता प्रगतीशील पार्टीबाट हृदयेश त्रिपाठी र डा. शिवजी यादव र तराई मधेश लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द्र लाल बैठकमा सहभागी रहेका थिए ।
यसैबीच राष्ट्रिय मुक्ति पार्टी नेपालले वृहत् संयुक्त मोर्चा निर्माण गर्ने उद्देश्यले कार्यदल गठन गरेको जनाएको छ । रामनरेश रायको संयोजकत्वमा गठन गरिएको कार्यदलमा सुमन सायमी, केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र जुनतारा पुन मगर सदस्य रहेका छन् ।