लागूऔषध कारोबारमा संलग्न एक गिरोहका सदस्यसँग करिब १० करोड मूल्य बराबरको अवैध सम्पत्ति रहेको पाइएको छ ।
भारतबाट नेपालमा लागूऔषध तस्करी गर्ने बारा परवानीपुर– ३ का प्रदीप सर्राफसँग १० करोड रुपैयाँभन्दा अधिक सम्पत्ति रहेको पाइएको छ । उनको सो सम्पत्ति जफतको माग गर्दै प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले सर्राफलाई गत असोज २ गते लागूऔषधसहित पक्राउ गरेको छ । अनुसन्धान गर्दा सो गिरोहको माथिल्लो तहका कारोबारी भएको र यही अपराधबाट उनले अकुत सम्पत्ति आर्जन गरेको देखिएको भन्दै प्रहरीले लागूऔषधसहित गत मंसिरमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । उनलाई १० करोड ८६ हजार पाँच सय ८० रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
स्थापनाको ३२ वर्ष लामो इतिहासमा ब्यूरोले पहिलोपटक लागूऔषध कारोबारीको सम्पत्तिसमेत खोजेर मुद्दा दायर गरिएको पहिलोपटक रहेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए । गत वैशाखदेखि प्रहरीले सम्पत्ति शुद्धीकरणमा आफैँ अनुसन्धान गर्ने अधिकार पाएको छ । वर्षौँदेखि लागूऔषध कारोबारमा संलग्न सर्राफको घर, जग्गा तथा बैंकको नगद जफतको माग गरी मुद्दा दायर गरिएको ब्यूरोका एक अधिकारीले बताए ।
प्रहरीले गत भदौँ ३१ मा बालाजु पवित्रनगरबाट ९ हजार क्याप्सुल ट्रामाडोलसहित पर्वतका बालकृष्ण अधिकारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा झापाकी सम्झना रोक्का पनि पक्राउ परेकी थिइन् । रोक्काकै बयानका आधारमा बाराका सर्राफ र मनमोहन श्रेष्ठ पक्राउ परे । चारैजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दायर भएको छ ।
सम्झना रोक्काविरुद्ध एक करोड ७२ लाख ५९ हजार रुपैयाँ, मनमोहन श्रेष्ठविरुद्ध एक करोड ५९ लाख सात हजार रुपैयाँ तथा बालकृष्ण अधिकारीविरुद्ध २५ लाख ४३ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको व्युरोले जनाएको छ । यूरोले १ लाख ८० हजार ८ सय ४३० क्याप्सुल नियन्त्रित औषध ट्रामाडोलसहित कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा उदयपुरको गाईघाट नगरपालिका–५ घर भई हाल गोकर्णेश्वर नगरपालिका–७ स्थित माकलवारीका ३० वर्षीय श्रीबहादुर राई, सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने बर्ष २२ का विपिनकुमार महतो र पर्वतको महाशिला गाँउपालिका–५ स्थित लुंखु घर भई हाल काठमाण्डुको मित्रनगरका २७ वर्षीय बालकृष्ण अधिकारी रहेका छन् ।
त्यस्तै झापाको अर्जुनधारा नगरपालिका–१ घर भई हाल टोखा नगरपालिका–९ गोंगबुका ३२ वर्षीया सम्झना रोक्का, बारा परवानीपुर गाँउपालिका–३ का ३४ वर्षीय प्रदीप सर्राफ र काठमाण्डु महानगरपालिका–१५ स्थित डल्लु घर भएका ५१ वर्षीय मनमोहन श्रेष्ठलाई यूरोको टोलीले पक्राउ गरेको छ । यूरोको टोलीले भदौँ १८ गते गोकर्णेश्वरको माकलवारीबाट श्रीबहादुर राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोलका ९०० क्याप्सुल सहित पक्राउ गरेको थियो । उनी बस्दै आएको कोठामा खानतलासी गर्दा थप लागूऔषध ट्रामाडोल ३३ हजार ६०० गरी जम्मा ३४ हजार ५०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको थियो ।
त्यस्तै भदौँ १९ गते सर्लाहीका महतोलाई कागेश्वरी मनोहराको बाबाचोकबाट ट्रामाडोल क्याप्सुल ५३ हजार ९०० र नाइट्राजेपाम ट् याब्लेट ८९२ बरामद गरिएको थियो । यूरोले मित्रनगर बस्ने अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट लागूऔषध ट्रामाडोलको ९ हजार क्याप्सुलसहित पक्राउ गरेको थियो । उनले सो लागूऔषध ट्रामाडोल सम्झना रोक्काबाट खरिद गरी बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । गोंगबु बस्ने रोक्कालाई निजकै घरबाट पक्राउ प्रहरीले त्यही दिन पक्राउ गरेको थियो । उनको कोठामा खानतलासी गर्दा थप ८३ हजार ट्रामाडोल क्याप्सुलसहित नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको थियो । रोक्काले सो ट्रामाडोल क्याप्सुलहरु बिक्री वितरण गर्ने मुख्य व्यक्ति अर्के व्यक्ति भएको बयान दिएकी थिइन् । रोक्काको बयानका आधारमा यूरोले बाराको परवानीपुरका प्रदिप सर्राफलाई टोखा नगरपालिकाबाट ट्रामाडोलका ३० क्याप्सुलसहित पक्राउ गरेको थियो । उनलाई कारोबार गर्न सहयोग गर्ने मनमोहन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
आरोपित सर्राफले ट्रामाडोल विगत ४ बर्ष देखि काठमाण्डुमा ठूलो परिमाणमा अवैध कारोवार गर्दै आएको यूरोको अनुसन्धानबाट खुलेको थियो । पक्राउ परेका उनीहरुमाथि औषधि नियन्त्रण ऐन २०३३ वमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिएको थियो ।