पूर्वपश्चिम राजमार्ग अन्तर्गतको धनुषाको कमला–ढल्केवर हुँदै बाराको पथलैया सडक आयोजना पूर्वी खण्डको काम सुस्त गतिमा भइरहेको छ । आयोजना अन्तर्गतको कमला– बढहरी–फूलजोर–बागमती ७४.७५ किलोमिटर लम्बाइको पूर्वी खण्ड यही जनवरी १ तारिखदेखि स्तरोन्नतिको चरणमा प्रवेश गरे पनि सुस्त गतिमा काम हुँदा समस्या हुने गरेको छ ।
यस खण्डको भद्रगोल अवस्था र छरपस्ट समस्याका कारण निर्माणले अपेक्षित गति लिन सकेको छैन । विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा पूर्वी खण्डको सन् २०२५ जनवरी १ तारिखदेखि कमला पुल पश्चिम, धनुषा जिल्लाको बडहरी र सर्लाहीको फूलजोर गरी तीन ठाउँबाट एकै साथ स्तरोन्नति भइरहेको छैन ।
यसका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रकचर लिमिटेड इन्डियाले तथा दोस्रो र तेस्रोमा पर्ने बडहरी– फूलजोर र फूलजोर–बागमती खण्ड चाइनिज कम्पनी एसडब्ल्यु इजे र रखुवा कन्स्ट्रक्सन कम्पनी आरसिसी ज्वाइन्ट भेन्चरले ठेक्का सम्झौता गरिसकेको छ । आगामी सन् २०२७ सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने छ । निर्माणको सुरसारसमेत भएको छैन ।
गौरीडाँडास्थित कमला–ढल्केवर– पथलैया सडक आयोजना (पूर्वी खण्ड) का अनुसार पनि निर्माणअघिको पूर्वतयारीका लागि सडक दायाँबायाँ रहेका रुखदेखि पोलसम्मका अवरोध हटाउन्ुपर्ने भएकाले निर्माण सुरु गर्न नसकिएको हो । अहिले दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्ड अनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेकका ठाउँमा ‘मेडियन’ सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गर्नुपर्ने भएकाले सडक क्षेत्राधिकारमा अनेक बाधा अड्चन देखा परेको छ ।
पूर्वी खण्डका आयोजना प्रमुख छविलाल पौडेलले धनुषको कमलादेखि पश्चिम सर्लाहीको बागमतीसम्म सडक दायाँबायाँ रहेका आठ हजार ४५२ थान त विभिन्न प्रजातिका रुख नै हटाउनु पर्छ । कटानअघि यी रुखको यकिन संख्या बुझ्न पुनः गणना भइरहेको जानकारी दिए । उनले त्यसपछि संख्या प्रमाणीकरणका लागि डिभिजन वन हुँदै संघ र प्रदेशमा धाउनुपर्नेलगायतका प्रव्रिmया झन्झटिलो भएकाले कहिलेसम्म रुख काटिने हो यकिन नभएको बताए । अर्कोतर्फ विद्युत् पोल विस्थापन अर्को समस्या छ ।
आयोजना र प्राधिकरणले दुई वर्षअघि गरेको गणना अुसार पूर्वी खण्डको कमलादेखि बागमतीसम्म २२२ विद्युत् पोल छन् । पोल विस्थापनका लागि आयोजनाले ३५ करोड रुपियाँको अनुमान पनि गरिसकेको उनले बताए । गणनापछि प्राधिकरणको प्रदेश कार्यालय, निर्देशनालय हुँदै टेन्डर प्रव्रिmयामा अघि बढ्ने छ । ठेक्का लगाउन पनि समय लाग्छ ।
अर्कातर्फ राजमार्गमा सामानान्तर बिच्छाइएको नेपाल टेलिकमका अप्टिकल फाइबरले पनि समस्या थपेको छ । यसलाई स्थानान्तरण गर्न आयोजना र टेलिकमबिच पनि समझदारी (एमओयु) को तयारी भइरहेको पौडेलले बताए । उनका अनुसार समझदारी पत्रमा हस्ताक्षरपछि टेलिकमले बजेट सुनिश्चित गर्नु पर्छ । त्यसपछि सडक ठेकेदारले अप्टिकल फाइबर हटाउने काम गर्छ । यसका साथै सडक क्षेत्राधिकारमा पर्ने दुवै तर्फ २५/२५ मिटर खाली गर्नुपर्ने हँुदा कमलादेखि पथलैयासम्मका ६४ घरधुरीका ६६ वटा संरचना, २०४ वटा छाप्रो टहरा, चार वटा पेट्रोल पम्प छन् । पौडेलले भने, “निजी संरचना भएकाले मुआब्जा रकम सुनिश्चित गरेर मात्र विस्थापित गर्न सकिन्छ । मूल्याङ्कन र क्षतिपूर्तिका लागि भवन कार्यालय जनकपुरसँग सहकार्य भइरहेको छ ।”
यीबाहेक ३५ वटा मठमन्दिर, ५५ वटा बरपिपलको चौतारो, १७ ठाउँमा नेपाली सेना र दुई ठाउँमा प्रहरीको चेक पोस्ट, चार वटा प्रहरी बिट र एउटा प्रतिक्षालय, आठ वटा इनार, ६९ वटा प्रतिक्षालय, तीन वटा सार्वजनिक शौचालय छन् । यसका साथै कन्सलटेन्टको रिपोर्टले ३३ हजार १६० मिटर खानेपानीका पाइपमा बाधा पुग्न सक्ने उल्लेख गरिएको छ । पौडेलले भने, “राजमार्गको अधिकार क्षेत्रभित्र १६ वटा संरचना त नेपाली सेनाकै परेको छ । यी संरचना हटाएर मात्र पुग्दैन उनीहरूले तोकेको स्थानमा सडक ठेकेदारले नै पुनर्निर्माण गरिदिनुपर्ने भएकाले सबैलाई व्यवस्थापन गर्न समय त लाग्छ नै ।”
यी तमाम बाधा अवरोध नहटाएसम्म सडक स्तरोन्नतिको काम अघि बढाउन नसकिने ठेकेदार कम्पनी इकेकेका प्रमुख इन्जिनियर दावा तामाङले बताउनुभयो । उहाँका अनुसार काम गर्ने पत्र पाइएको छ । तथापि ठेकेदार कम्पनी पनि काम सुरु गर्नुअघिको पूर्वतयारीमा जुटेको बताए । तामाङले भने, “आयोजना जस्तै हामी ठेकेदार कम्पनी पनि निर्माण सामग्री व्यवस्थापन, रिपोर्ट तयारी, सर्भे, ड्रोइङ जस्ता पूर्वतयारीसहित काम सुरु गर्ने वातावरणको प्रतिक्षारत्त छौँ ।”