
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहतथा माघ १६ गते शहीद दिवस मनाउने पञ्चायतकाल देखिकै परम्परा हो । राणा शासनको विरोध गरेको आरोपमा राणा शासकहरुले वि.सं. १९९७ माघ १३ गते धर्मभक्त माथेमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्द तथा माघ १६ गते शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको थियो ।
राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरी वि.सं.२०१७ साल पुस १ गतेदेखि शुरु गरेको क्रूर पञ्चायतीकालदेखि शहीद दिवसको प्रचलन शुरु भएको थियो । जो गणतन्त्रान्त्रिक नेपालमा पनि पुरानै यति– गतिमा मनाइँदै आएको छ । मुलुकमा भएका जुनसुकै राजनीतिक, आर्थिक, सामाजिक वा पहिचानको आन्दोलनमा शहादत दिनै सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै आज एउटा यस्तो शहीदको चर्चा गर्न चाहन्छु, जसलाई नेपालको मुलुकी ऐन संशोधन गरेर विधिवत मृत्यु दण्ड दिइए पनि उनलाई औपचारिक शहीदको सम्मान भने उनी शहादत दिएको ५२ वर्षपछि मात्र प्राप्त भएको थियो ।
मुलुकमा शहीदसंग पनि विभेद हुन्छ भन्ने अपत्यारिलो भाष्यलाई प्रमाणित गर्ने उनी थिए– धनुषाको सीमावर्ती गाउँ जटहीमा वि.सं.१९९९ वैशाख १४ गते जन्मग्रहण गरेका परिवारका एक मात्र वारेस अमर शहीद दुर्गानन्द झा । २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला, गणेशमान सिंहलगायतका कांग्रेस नेताहरुलाई जेलमा हालेर पञ्चायती व्यवस्था शुरु गरेका थिए ।
राजाको यस कदमको नेपाली कांग्रेसले विरोध गरेको थियो । कांग्रेस नेताहरुको सीमावर्ती भारतीय गाउँ उमगाउमा रहेको कैम्पमा राजा महेन्द्रमाथि बम प्रहार गर्ने निर्णय भएको थियो । २०१८ साल माघ ९ गते जनकपुरधाम आउन लागेका राजा महेन्द्रमाथि बम कसले प्रहार गर्ने भन्ने विषयमा छलफल भइ रहेको बेला १९ वर्षीय दुर्गानन्द झा र लगभग त्यही उमेरका धनुषा कै अरविन्द ठाकुरले ‘बम प्रहार मैले गर्ने ।’ भन्दै जिम्मेवारी लिएका थिए । पञ्चायती व्यवस्थाको पक्षमा जनलहर सृजना गर्ने उद्देश्यले देश दौडाहामा निस्केका राजा महेन्द्र २०१८ साल माघ ९ गते जनकपुरधाम आएका थिए ।
नेपाली कांग्रेसले अरविन्द ठाकुरलाई हवाई अडामा बम प्रहार गर्ने जिम्मेवारी पाएको थियो । तर ठाकुर बम सहित प्रकाउ पर्नु भयो । दुर्गानन्द झालाई बम दिएर जानकी मन्दिर पठाइएको थियो । जानकी दर्शन गरेर फर्किने क्रममा झाले राजा महेन्द्रमाथि बम प्रहार गर्न सफल भए । यद्यपि राजालाई चोट पटक लागेन । उनी चढ्ने गाडीमा भने क्षति भयो ।
राजामाथि ग्रेनेट प्रहार गरेर सकुशल भारत छिरेका दुर्गानन्द झा पछि आत्मसमर्पण गर्ने उद्देश्यले जयनगरबाट रेल चढेर जनकपुरधाम आउने क्रममा बाटोमै पक्राउ परेका थिए । कष्टपूर्ण जेल जिवन पश्च्यात् वि.सं. २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा २१ वर्षीय दुर्गानन्द झालाई मृत्यु दण्ड दिइएको थियो । त्यतिवेलाको मुलुकी ऐनमा ब्राह्मणलाई मृत्यु दण्ड दिने प्राब्धान थिएन । सर्वोच्च अदालतको आदेश अनुसार मुलुकी ऐन संशोधन गरेर उनलाई मृत्यु दण्ड दिइएको थियो ।
मृत्यु दण्ड (फाँसी) शहीदका लागि फूलको माला सरह भए पनि शहीद परिवार तथा उनका आत्मजनका लागि कति कष्टकर र दःखदायी हुन्छ ? यो अनुभव दुर्गानन्दकी आमा सुकुमारी देवी र धर्मपत्नी काशी देवी झालाई नै थाहा होला । तर अमर शहीद दुर्गानन्द झाको हकमा अर्को पनि दुःखद घटना घटेको थियो । त्यो थियो–उनी शहादत दिएको ५२ वर्षपछि शहीद घोषणा हुनु ।
दुर्गानन्द जस्तै बलिदानीहरुको बलिदानको कारणले २०४६ सालमा मुलुकमा बहुदलीय व्यवस्था आयो । दुर्गानन्दले बनाएकै गणतन्त्रको पथमा २०५२ सालदेखि माओवादी जनयुद्ध शुरु भयो । २०६३ सालमा अन्तरिम संविधान जारी भयो । मधेश आन्दोलन भयो । तर दुर्गानन्दलाई औपचारिक रुपमाशहिद घोषणा गरिएन ।
२०१८ सालमा राजा महेन्द्रमाथि आक्रमण गर्न हाथमा ग्रेनेट दिएर विदा गरेको नेपाली कांग्रेस २०४६ सालयता पटक पटक सरकारमा गयो । कांग्रेस नेताहरु प्रधानमन्त्री र मन्त्री भए, तर दुर्गानन्दलाई शहीद घोषणा गरिएन । उनी शहादत दिएको ५२ वर्षपछि २०७२ साल जेठ १४ गते बसेको संविधान सभाको पहिलो बैठकबाट औपचारिक रुपमा शहीद घोषणा गरिएको थियो ।
शहादतको ५२ वर्षपछि शहीद घोषणा हुनु राजनीतिक बेइमानी भएको बुझ्न सकिन्छ । तर सयौं सुरक्षाकर्मी र हजारौँ समर्थकको बीचमा राजा महेन्द्रमाथि ग्रेनेट प्रहार गरेर सकुशल भारत पुगेका वीर योद्धा दुर्गानन्द झासंग यस्तो कुन घटना घटित भएको थियो, जसले उनलाई आत्मसमर्पण गर्न बाध्य बनायो ? यो अनुसन्धानको विषय हो । शहीदहरुले लगाएको ऋणको व्याज खाएर बसेका राजनीतिक दलहरुले यसको खोजीमा ध्यान दिनु पर्दछ । सलाम अमर शहिदहरु ।।