२०८१ माघ २०, आईतवार १८:१४

नेपालमा गैरकानूनी रहेको क्रिप्टोकरेन्सी अर्थात् अभौतिक मुद्राको सङ्गठित रूपमा कारोबार तथा अनलाइन स्क्याममा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डङ्गौरा, बर्दगोरिया–६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठ–८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ तेजविनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाईं छन् । यस्तै रौतहटको गौर नगरपालिका–९ घर भई काठमाण्डौको बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहार घर भई काठमाण्डौ बस्ने २७ वर्षीय रेशन कुमार र ३६ वर्षीय मुन्ना कुमारलाई पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद पाँच लाख ५० हजार रुपैयाँ, कम्प्युटर दुई थान, मोबाइल १३ थान र विभिन्न बैंकको चेक १९ थान बरामद गरेको छ । उनीहरूले विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको, विभिन्न बैंक तथा डिजिटल वालेटका प्रयोगकर्ताहरूलाई झुक्याएर आधिकारिक व्यक्ति भएको भन्दै ओटीपी र पिन मागेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

यसैगरी उनीहरूले ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गर्ने गरेको पाइएको छ । उनीहरूले विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरूको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटमा खाता खोल्न लगाई त्यो खाता आफूले प्रयोग गर्ने र प्रयोग गरेबापत निश्चित रकम दिने गरेको र यस्ता खातामा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने तथा हुन्डी कारोबार गर्नसमेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । अहिलेसम्म उनीहरूले तीन अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको खुलेको छ ।

Comment


Related News

Latest News

Trending News