२०८१ माघ २१, सोमबार ०८:०७

केही साता अघि मधेश केन्द्रित दलहरुबीच मोर्चावन्दीका लागि एकठाम भेलामा उद्देश्यविहीनताको अवस्थामा पुगेपछि मोर्चावन्दीबारे अन्योलता देखिएको बताइएको छ ।

पछिल्लो समय मोर्चाबन्दी भएका मधेश केन्द्रित आठ दलीय मोर्चाको उद्देश्य, मुद्दा र एजेन्डाका सवालमा कुरा नमिले पछि उनीहरु बीच विभाजित हुने सम्भावना रहेको देखिन्छ । सरकारमा रहेका, सरकारलाई समर्थन मात्र गरेका र संसद्मा नरहेका विभिन्न आठ दलको मोर्चाबन्दी भए पनि किन र के, कारणले गर्दा एक ठाउँमा भेला भएको बारेमा प्रस्टता देखिएको छैन ।

सत्ता घटक दलहरु रहेकामध्ये जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ओलीको नेतृत्वको सरकारमा रहेका छन् भने जसपा नेपालले समर्थन गरेको छ । त्यसपछि राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) दलहरु भने सरकारमा छैनन् । सो आठ दलीय मोर्चा भने माघ १७ गतेमा मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो ।

दलहरूले मोर्चाको नाम, अवधारणा, एजेन्डा र आचारसंहिता तयार गर्न तीन सदस्यीय कार्यदलसमेत गठन गरी आन्तरिक कामकारबाही अघि बढाइसकेको थियो । माघ १८ गतेको बैठकबाट जसपा नेपालका मनिष सुमन, लोसपा नेपालका लक्ष्मणलाल कर्ण र राष्ट्रिय मुक्ति पार्टीबाट केशव झालाई सो जिम्मेवारी दिएको थियो । तर सो तीन सदस्यीय कार्यदल भने आफै विवादित बनेपछि आठ दलीय मोर्चाको उद्देश्य र एजेन्डा नै अन्योलमा परेको छ ।

आठ दलीय मोर्चाका तीन सदस्यीय कार्यदलबीच नै मतैक्य नभएपछि काम शुरु हुनु अघि नै विभाजनको दोसाँधमा पुगेको एक नेताले बताए । सत्तारुढ दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनमार्फत साना दललाई कस्ने नीति लिएपछि एक ठाउँमा आएका आठ दलमध्ये केहीले यसलाई सरकारविरोधी मोर्चाका रूपमा बुझ्न थालेका छन् ।

सरकारको कार्यसम्पादनप्रति असन्तुष्ट रहेका र संसद्मा नरहेका कतिपय दलले सरकारलाई खबरदारी गर्ने मोर्चाका रूपमा यसलाई अथ्र्याउन थालेका छन् । केही दलले आठ दलीय मोर्चालाई सरकारविरोधीको रुपमा नअथ्र्याउन आग्रह गरेका छन् । मधेश केन्द्रित दलहरूलाई शुरुमा एक ठाउँमा आउन आह्वान गर्ने जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठी राजनीतिप्रति जनतामा देखिएको उदासीनता चिर्ने मोर्चाको मुख्य उद्देश्य रहेको बताएका थिए ।

सत्तामा रहेका कांग्रेस र एमालेले निराशा चिर्न र मधेशको समस्या सम्बोधन गर्न नसक्ने भएकाले आफूहरू एक ठाउँमा आउनुपरेको भन्दै उनी यो मोर्चा सरकारविरुद्ध नै बनेको प्रस्ट्याउँछन् । सरकारमै भए पनि लोसपा नेपालले भने मोर्चामार्फत सरकारलाई खबरदारी पनि गरिने बताएको छ । लोसपा नेपालका महासचिव परमेश्वर साहले सरकारले जनतालाई अपेक्षित ‘डेलिभरी’ दिन नसकेको बताउँदै यसबारे छलफल भइरहेको दाबी गरे ।

सरकारको आलोचना गरेर सरकारमै रहन नहुने विषय पार्टीमा समेत छलफल भइरहेकोले छिट्टै कुनै निर्णयमा पुग्ने महासचिव साहले बताए । जसपा नेपालका नेता मनिष सुमनले पनि सरकारले गलत गरेको खण्डमा मोर्चाले खबरदारी गर्ने बताए । मोर्चा बन्दैमा सरकार तथा सरकारवादी कोही पनि तर्सिन नहुने उनको भनाइ थियो ।

केन्द्रको समर्थन गरेर मधेश प्रदेशमा सरकारको नेतृत्व लिएको जनमत पार्टीले ओली नेतृत्वको सरकारसँग आठ दलीय मोर्चाको सरोकार नै नभएको जनाएको छ । आठ दलीय मोर्चा नितान्त संविधान संशोधनका मुद्दासँग मात्र सम्बन्धित रहेको जनाएको छ । जनमत पार्टीका प्रवक्ता जनमतका प्रवक्ता डा. शरदसिंह यादवले चेतावनी दिँदै संविधान संशोधनबाहेक अन्य उद्देश्य रहेमा आफूहरू मोर्चाबाट बाहिरिने बताए ।

उनले संविधान संशोधन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न खोजिए मोर्चाबाटै बाहिरिने बताए । सरकारमै रहेको अर्को दल जसपाले पनि संविधान संशोधनका क्रममा बढीभन्दा बढी मधेशी आदिवासीका एजेन्डा सम्बोधन गराउने उद्देश्यले आठ दलीय मोर्चा निर्माण गरिएको बताए । जसपाका महासचिव मोहम्मद इस्तियाक राई कसैले आठ दलीय मोर्चालाई आफ्नो स्वार्थका लागि उपयोग गर्न खोजेमा मोर्चा नै दुर्घटित हुन सक्ने बताए ।

Comment


Related News

Latest News

Trending News