२०८१ माघ २१, सोमबार १९:१०

मधेसकेन्द्रित ८ दलले सरकारविरूद्ध मोर्चा नबनाएको बताएका छन्। समान मुद्दा भएका ८ दलीय मोर्चा बने पनि यो सरकारविरूद्ध खडा नभएको उनीहरूको भनाइ छ।

‘समान मुद्दा भएका राजनीतिक दलहरूको मोर्चाको बैठक बसेको हो। यो सरकार विरूद्धको बैठक जस्ता धेरै अभिव्यक्ति आएका छन्, त्यस्तो होइन,’ सोमबार सिंहदरबारमा बसेको मोर्चाको बैठकपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भने।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए। ‘मोर्चाको नामका विषयमा पनि कुराकानी भयो,’ उनले भने।

सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक समग्रमा राम्रो रहे पनि कतिपय प्रावधान सच्याउनुपर्ने बताए।

मोर्चाले सोमबार नाउपा संसदीय दल कार्यालय सिंहदरबारमा मधेसी तथा थारू आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि आगामी दिनमा के-कस्तो रणनीति बनाएर जाने विषयमा पनि छलफल गरेको थियो।

मोर्चामा जसपा, जनमत, जसपा नेपाल, नाउपा, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तमलोपा छन्।

Comment


Related News

Latest News

Trending News