२०८१ माघ २२, मंगलवार ०७:१५

जनता समाजवादी पार्टी नेपाल अहिले सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशबारे आन्तरिक छलफलमा जुटेको छ ।

जसपा नेपालका सांसद मृगेन्द्र कुमार सिंह यादवले भने, ‘अध्यादेश स्वीकृत वा अस्वीकृतको विषयमा हामी निर्णयमा पुगेका छैनौं ।’ यही माघ २४ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनेछ । सांसद मृगेन्द्र सिंहले अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा अध्यादेश स्वीकृत गर्ने पक्षमा मत दिने कि अस्वीकृत गर्ने पक्षमा मत दिने भन्नेमा निर्णय लिन पार्टी आन्तरिक छलफलमा जुटेको बताए ।

उनले भने, ‘तीन दिन देखि पार्टीको कार्याकारिणी समितिको बैठक चलिरहेको छ । संसदीय दलको बैठकले पनि निर्णय गर्न सक्छन् । त्यसपछि अध्यादेशमा हाम्रो पोजिसन के हुने निक्र्योल हुन्छ’ सिंहले भने । मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।

पुस २९ गते थप चार वटा अध्यादेश जारी भएको थियो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश गत शुक्रबार दुवै सदनमा प्रस्तुत भएको छ । अध्यादेशलाई संघीय संसदको दुवै सदनले स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको छ । सरकारले यही माघ २४ गते अध्यादेशलाई दुवै सदनमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेको छ ।

विपक्षी दलहरूले भने अध्यादेश अस्वीकृत गर्नका लागि विरोधको सूचना दर्ता गरेका छन् । प्रतिनिधि सभामा ५० वटा र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ । प्रतिनिधि सभामा सरकारको प्रष्ट बहुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको पार्टीका तीन जना सांसदले जता मत दिन्छन् उतै बहुमत पुग्छ । जसपा सरकारमा छैन । तर, विपक्षी मोर्चामा पनि खुलेको छैन । यसकारण जसपा नेपाल अध्यादेश स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्नेमा राष्ट्रिय सभामा निर्णायक रहेको छ ।

प्रतिनिधिसभामा सरकारको पक्षमा नेपाली कांग्रेस (८८), नेकपा एमाले (७९), जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (४) र नागरिक उन्मुक्ति पार्टी (४) गरेर १८८ सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सो दुई तिहाइ बहुमत रहेको छ । तर, राष्ट्रिय सभामा सरकारसँग भने बहुमत पुगेको छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (१) गरेर २७ जना सांसद छन् । जुन बहुमत होइन । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई समेत जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । त्यस्तै राष्ट्रिय सभामा रहेका विपक्षी दलहरूको संख्या पनि सत्तारुढ दलकै हाराहारीमा छ । नेकपा माओवादी केन्द्र (१७), नेकपा एकीकृत समाजवादी (८) र राष्ट्रिय जनमोर्चा (१) गरेर २६ जना सांसद विपक्षी मोर्चामा रहेका छन् । जनता समाजवादी पार्टी नेपाल सरकारमा छैन ।

तर जसपा नेपालका तीन जना सांसद कतै खुलेका छैनन् । यदि जसपा नेपालका तीन जना सांसद अध्यादेश अस्वीकृत गर्ने पक्षमा खुले भने विपक्षमा रहेका सांसदको संख्या २९ पुग्छ । जसपा नेपालका तीन जना सांसदले साथ दिए सत्ता पक्षको संख्या ३० पुग्छ । सो ५९ सदस्यीय सभामा प्रष्ट बहुमत छ । तीन जना मनोनित सांसदमध्ये नारायण दाहाल नेकपा माओवादी केन्द्र समर्थित हुन् । उनले बराबरी मत हुँदा मात्रै निर्णायक मत दिन पाउँछन् । अर्का मनोनित सांसद बामदेव गौतम कतै खुलेका छैनन् ।

जसपा नेपालका सांसदले विपक्षी दलहरूलाई साथ दिए अध्यादेश अस्वीकृत गर्न बामदेवको साथ आवश्यक हुन्छ । जसपा नेपालका सांसदले सत्तापक्षलाई साथ दिए बामदेवको मत विना पनि बहुमत पुग्छ । यसकारण गौतमको मत पनि विपक्षी मोर्चाका लागि महत्वपूर्ण छ । दुई प्रकृतिका विधेयकमाथि निर्णय गर्न २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभाको संयुक्त बैठक बस्न सक्ने छ । ३३४ सदस्यीय संयुक्त बैठकबाट विधेयकमाथि निर्णय गर्न सक्छ । निर्णय बहुमत वा सर्वसम्मत दुवै तरिकाबाट हुन सक्ने छ ।

Comment


Related News