अपडेट 
२०८१ माघ २३, बुधबार ०७:१९

जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएपछि ‘ फरार’ रहेका सिराहाको लहान नगरपालिका– २४ गोविन्दपुरका वडा सदस्य करिब ४५ वर्षीय भोगी भनिने भोगिन्दर पासमान पक्राउ परेपछि कारागार चलान भएका छन् ।

०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट वडासदस्य निर्वाचित पासमानलाई प्रहरीले लहान– १० बाट पक्राउ गरी सोमबार सिराहा जिल्ला अदालतमा दाखिला गरी १४ वर्ष कैद सजाय भुक्तानका लागि सिराहा कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासमानका अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासको ८ फागुन ०८० को फैसलाबमोजिम पक्राउ गरी अदालतमार्फत कारागार पठाइएको छ ।

उच्चले परिवर्तित नाम लहान (ख) को जाहेरीको आधारमा जबर्जस्ती करणी मुद्दामा १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेपछि ‘ फरार’ रहँदै आएका प्रतिवादी पासमानलाई विशेष सूचनाको आधारमा पक्राउ गरी कारागार चलान गरिएको उनले बताए । उच्चमा १३ वैशाख ०७९ मा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा ०८० मा असोज ५, पुस २४ तथा माघ ९ र २३ को सुनुवाइपछि ८ फागुनमा कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेशसहित ४ चैतमा न्यायाधीशद्वय राधाकृष्ण उप्रेती र कोशलचन्द्र सुवेदीको संयुक्त इजलासले अभियोग दाबी पुग्ने फैसला सुनाएको थियो ।

सिराहा जिल्ला अदालतमा २२ चैत ०७७ मा पासमानसहित उनका छिमेकी अर्जुन पासमानविरुद्ध दर्ता भएको जबर्जस्ती करणी मुद्दामा न्यायाधीश पुष्पराज थपलियाको आदेशले २६ साउन ०७८ मा अभियोग दाबी नपुग्ने अन्तिम फैसला सुनाएको थियो। जिल्ला अदालतको अन्तिम फैसलापछि ०७९ वैशाखको स्थानीय स्थानीय तहको निर्वाचन हुनुअघि नै पीडित पक्षले उनीविरुद्ध उच्चमा पुनरावेदन गरेको थियो ।

स्थानीय तहको निर्वाचनमा वडासदस्य निर्वाचित भएको करिब २३ महिनापछि उच्चले पासमानलाई जबर्जस्ती करणी मुद्दामा अदालतले अभियोग दाबी नपुग्ने अन्तिम फैसला उल्टाएर कसुरदार ठहर गरेको थियो ।

Comment


Related News