
पछिल्लो पाँच आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट सबैभन्दा बढी लसुन नेपाल आयात भएको देखिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब १८ करोड ३९ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको ४ करोड ६९ लाख ३९ हजार किलो लसुन चीनबाट आयात भएको तथ्यांकले देखाएको छ । चीनबाट औसत ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँ मूल्य बराबरको आयात हुने गरे पनि पछिल्लो समयमा किन यति लसुन आयात भयो भन्ने बारे शंका भए पछि भन्सार विभागले सूक्ष्म अनुसन्धान थालिएको छ ।
व्यवसायीहरुले जनाए अनुसार चीनबाट आयात भएको लसुन पछिल्लो समयमा खुला सीमाको फाइदा उठाउँदै तस्करले भारत पठाउने गरेका छन् । यसले गर्दा चीनबाट नेपालमा लसुनको आयात अत्यधिक परिमाणमा बढेको उनीहरु बताउँछन् । पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा सबैभन्दा बढी लसुन चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चीनबाट मात्रै आयात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २२ करोड ३९ लाख रुपैयाँबराबरको १ करोड ७० लाख २६ हजार किलो आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा ५ लाख ९९ हजार रुपैयाँबराबरको १ हजार ९ सय ९६ किलो लसुन चीनबाट आयात भएको थियो । एक आयातकर्ताका अनुसार चीनबाट आयत हुने लसुनको कूल परिमाणमध्ये झण्डै ८० प्रतिशत भारतमा तस्करी भइरहेको छ । व्यवसायीहरुका अनुसार पछिल्लो समयमा भारतमा लसुनको उत्पादन निक्कै कम परिमाणमा भएको थियो । मौसम प्रतिकूलका कारण भारतमा लसुनको उत्पादनमा कमी आउँदा मागअनुसार आपूर्ति नहुँदा त्यहाँ निक्कै महँगो मूल्यमा बिक्री भइरहेको छ ।
भारतमा प्रतिकिलो लसुनको मूल्य ४ सय भारतीय रुपैयाँ(प्रतिकिलो ६३९.८५ नेपाली रुपैयाँ)छ । चीनमा लसुनको मूल्य प्रतिकिलो करिब १५० देखि १६५ रुपैयाँ नेपाली पर्छ । खरिद भएको सो लसुनमा ढुवानी भाडा प्रतिकिलो करिब १५ रुपैयाँको हाराहारीमा लाग्छ । औपचारिक रुपमा चीनबाट आयात गरिएको लसुन नेपालसम्म आइपुग्दा करिब १८० देखि १९० रुपैयाँसम्म पर्छ । सो लसुन भारतमा तस्करी गरी पठाउँदा प्रतिकिलोमै कम्तीमा ३ सय रुपैयाँसम्म नाफा हुने भएकाले चीनबाट लसुनको आयात नेपालमा अत्यधिक बढेको छ ।
अनौपचारिक रुपमा भारतमा तस्करी हुने गरेकाले यसको विवरण भन्सार विभागको तथ्यांकमा उल्लेख नै छैन । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अत्यधिक परिमाणमा आयात भएको लसुन भन्सार विभागको आयातको सूचीमा १९ औं नम्बरमा परेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा चीनबाट आयात भएको लसुन भन्सारको आयातको सूचीमा ३३७ नम्बरमा परेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा आयातको सूचीमा चीनको लसुन १९५ नम्बरमा परेको थियो । भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले पनि पछिल्लो असोज महिनादेखि नेपालमा चीनबाट अस्वभाविक रुपमा लसुनको आयात बढेको जनाए । सूचना अधिकारी श्रेष्ठले भने, ‘गत असोज महिनादेखि नेपालमा चीनबाट अत्यधिक परिमाणमा लसुनको आयात भइरहेको हामीले पाएका छौं, चालु आर्थिक वर्षको ६ महिनामा यो तथ्यांक झनै आश्चर्यजनक रुपमा पाइएको छ,’ उनले अघि थप्दैँ भने, ‘यति ठूलो परिमाणमा चीनबाट लसुनको आयात किन बढ्यो भन्ने विषयमा विभागले सूक्ष्म रुपमा अध्ययन गरिरहेको छ ।’
चीनबाट लसुन आयात हुँदा प्रतिकिलोमा ३४ रुपैयाँ भन्सार महसुल लाग्ने गरेको छ । अत्यधिक परिमाणमा लसुन आयात हुँदा राजस्व पनि धेरै परिमाणमा उठेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चीनबाट लसुन आयात हुँदा सरकारले भन्सार विन्दुमा १ अर्ब ५९ करोड ६१ लाख रुपैयाँ राजस्व असुल गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा ५७ करोड ४० लाख रुपैयाँ राजस्व असुली भएको थियो । चीनबाट आयात भएको लसुन भारत तस्करी भइरहेको विषयलाई बेला बेलामा सीमा क्षेत्रमा बरामद भइरहेको लसुनको घटनाबाट पुष्टि भएको छ । दुई साताअघि मात्रै भारत तस्करी गर्न लागेको ठूलो परिमाणमा चिनियाँ लसुन बिहारको मोतिहारीको सीमा क्षेत्रमा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । सीमा क्षेत्रमा करिब ७ सय मेट्रिक टन लसुन भारतीय प्रहरीले बरामद पनि गरेको थियो ।
त्यस्तै केही साताअघि सर्लाहीको सीमानाका क्षेत्रबाट एक क्वीन्टलभन्दा बढी लसुन, विराटनगरको सीमा क्षेत्र जोगवनी नजिकै १४८ र ३७५ किलो चिनियाँ लसुन भारतीय सीमा सुरक्षाकर्मीले बरामद गरेका थिए ।