अपडेट 
२०८१ माघ २३, बुधबार ०९:१६

जनता समाजवादी (जसपा) नेपालले टास्को फोर्स गठन गरेको छ।

माघ १९ गतेदेखि तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले दुइटा टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो।

बैठकपछि जसपा नेपालले परिपत्र जारी गरी चार सदस्यीय विशेष टास्क फोर्स र तीन सदस्यीय टास्क फोर्स गठन गर्ने निर्णय भएको जनाएको हो।

विशेष टास्क फोर्समा पार्टी उपाध्यक्ष राजकिशोर यादवलाई संयोजक बनाइएको छ। विशेष टास्क फोर्समा खालिद सिद्धिकी, मनिषकुमार सुमन र शैलेन्द्र प्रसाद साह सदस्य छन्।

विशेष टास्क फोर्सलाई काठमाडौं उपत्यकामा आएर बसोबास, काम र व्यवसाय गरिरहेका मधेसी समुदायका मानिसहरूलाई सम्पर्क गरी पार्टीमा संगठित र परिचालित गर्ने जिम्मेवारी दिएको छ।

त्यस्तै काठमाडौं उपत्यकामा बसोबास, काम तथा विभिन्न व्यवसाय गर्नेहरुलाई पार्टीमा संगठित गर्न अर्को टास्क फोर्स गठन गरेको छ।

त्यसको संयोजक केन्द्रीय कार्यकारिणी सदस्य तारा विश्वकर्मा तोकिएका छन् भने चन्देश्वर सदा र दीपक विश्वकर्मा सदस्य छन्।

जसपाले फागुन १९,२० र २१ गते काठमाडौंमा केन्द्रीय समिति बैठक राख्ने निर्णय पनि गरेको छ।

Comment


Related News

Latest News

Trending News