२०८१ माघ २५, शुक्रबार ०८:३०

रौतहट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई सफाइ दिएपछि मृतकका परिवार आक्रोशित भएका छन् । मृतक रामविनोद गुप्ताका परिवारजनले न्यायको माग गर्दै बुधबारदेखि अदालत अगाडि धर्ना दिएका छन् ।

उनीहरूले जिल्ला न्यायाधीश मनोज केसीविरुद्ध कारबाहीको माग समेत गरेका छन् । मृतकका भाइ राजन गुप्ताका अनुसार बुधबार दिउँसोबाट धर्ना सुरू भएको थियो । तर राति ९ बजे जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले बलपूर्वक हटाएपछि बिहीबार बिहान पुनः सपरिवार धर्नामा बसेका छन् ।

मृतकका आमा, बुवा, श्रीमती, भाइ–बहिनी, भिनाजु, सम्बन्धीसहित १८ जना धर्नामा रहेका छन् । २०७६ असार ४ गते राति १० बजे पसलमा उधारो सामान नदिएको विषयलाई लिएर गाउँकै केही व्यक्तिले राम विनोद गुप्तामाथि आक्रमण गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा असार १० गते निधन भएको थियो ।

घटनालगत्तै मृतकका श्रीमती अनिता देवी र भाइ राजन गुप्ताले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले तत्काल छानबिन अघि बढाउँदै १३ वर्षीय नाबालकसहित विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहलाई आरोपित गरेको थियो ।

प्रहरीले लामो समयसम्म अनुसन्धान गरेपछि रामकिशोर सिंह, रामविनोद सिंह र निखिल कुमार सिंहलाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो । अदालतले १३ वर्षीय नाबालकलाई सुधारगृह वीरगन्जमा राख्ने निर्णय ग¥यो, तर पछि उनलाई अभिभावकको जिम्मा लगाइयो । तर, अन्य अभियुक्तहरू रामकिशोर सिंह र रामविनोद सिंहलाई धरौटीमा छोड्ने आदेश दिइयो ।

उनीहरू तारेखमा रहेका बेला गत २० गते अदालतले अभियोग दाबी नपुग्ने भन्दै सफाइको फैसला सुनायो । अदालतको फैसलापछि पीडित परिवार आन्दोलित बनेको छ । फैसलाको भोलिपल्ट २१ गतेदेखि मृतकका श्रीमती अनिता देवी र भाइ राजन गुप्ता सहित परिवारका सदस्यहरूले जिल्ला अदालत अगाडि धर्ना सुरू गरेका हुन् ।

राजन गुप्ताका अनुसार आन्दोलनकै क्रममा केही व्यक्तिले परिवारलाई धम्की दिएका छन् । सपरिवार धर्नामा बस्दा पटक–पटक धम्की आइरहेको छ । आफूहरू असुरक्षित महसुस गरिरहेका छौँ, प्रहरीले सुरक्षा प्रदान गर्नुपर्छ उनले भने । उक्त घटनामा संलग्न भनिएका अन्य चार अभियुक्तहरू अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ताका अनुसार उनीहरूको खोजी कार्य जारी छ ।

पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने अडान लिएको छ । उनीहरूले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी समेत गरिरहेका छन् ।

Comment


Related News