
मधेश केन्द्रित ८ दलीय मोर्चाले अन्य मधेशी दललाई बेवास्ता गरेको भन्दै त्यसको विरुद्ध अर्को मोर्चा बनेको छ ।
रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी नेपाल पार्टी र हरिनन्दनकुमार रञ्जनको नेतृत्वमा रहेको बहुजन एकता पार्टी नेपालबीच संयुक्त मोर्चा बनेको छ ।
नेपालमा दलित, बहुजन, मधेशी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक तथा सामाजिक अधिकार सुनिश्चित गर्ने उद्देश्यले मोर्चा बनाउन लागिएको संघीय समाजवादी नेपाल पार्टीका अध्यक्ष अन्सारीले जानकारी दिए ।
विगतमा पनि मधेश केन्द्रित दलहरूले मोर्चा बनाएर सत्ताको खेलमा लागेर मुद्दा विसर्जन गरेको भन्दै उनले अहिले फेरि उनीहरू मोर्चा बनाएर सत्ताको खेलमा लाग्ने निश्चित भएको देखेर आफूहरू मोर्चा बनाउन लागेको बताए । अहिले दुई दलले मोर्चाको अगुवाइ थालेको भन्दै उनले बिस्तारै अन्य दलहरूलाई जोड्दै जाने बताए ।
अध्यक्ष अन्सारीले मधेशी, आदिवासी जनजाति, पिछडिएको समुदायको अधिकार र पहिचानका लागि संघर्ष गर्न मोर्चा बनाउने दाबी गरे । मोर्चाका लागि दुई दलका अध्यक्षबीच भएको भेटवार्तामा वर्तमान सरकारद्वारा प्रस्तावित संविधान संशोधनबारे छलफल भएको छ । वर्तमान गठबन्धन सरकारको नीति नै समानुपातिक प्रतिनिधित्व खारेज गर्ने, दुई दलीय व्यवस्था लाद्ने र थ्रेसहोल्ड बढाएर सीमान्तकृत समुदायहरूको राजनीतिक सहभागितालाई सीमित गर्ने रहेको निष्कर्ष दुवै दलले निकालेर मोर्चाबन्दी गर्न तयार भएका छन् ।
बहुजन एकता पार्टी नेपालका अध्यक्ष रञ्जनले संविधान संशोधनको नाममा बहुजन समुदायको हक कुण्ठित गर्न खोजिएकाले आफूहरू संगठित भएको बताए ।