
ललिता दास विद्रोही अहिले मधेस प्रदेशको प्रदेशसभा सदस्य छिन्। उनी आफ्नो दलबाट दलितको कोटामा समानुपातिक सदस्य भएकी हुन्।
निर्वाचित भएको झण्डै दुई वर्षमा संसदमा धेरैपटक उठेर आफ्ना कुरा राख्ने सांसद मध्ये उनी पनि पर्छिन्। राजनीतिमा मात्र होइन आफ्नो समाजमा उनी हकी र परिवर्तनका लागि काम गर्ने महिलाका रूपमा परिचित छन्।
अहिले दलित कोटाबाट समानुपातिक प्रदेश सांसद बन्न पाएकी उनले आफू दलित हुँ भन्ने थाहा भने ९ कक्षा पढ्दामात्रै पाएकी रहिछन्। माध्यामिक तह पढ्न उनले स्कुल फेर्नुपरेको थियो। स्कुल फेरेर अलिक टाढाको ठूलो स्कुल गएपछि उनले धेरै नयाँ कुरा सिकिन्।
त्यतिबेला उनी र उनका साथीभाइबीच घरबाट खाजा ल्याएर खाने चलन बस्दै थियो। एकदिन उनका साथीहरूले उनीसँगै बसेर टिफिन खाएनन्। ‘किन सँगै बसेर खाजा नखाएको भन्ने कुरा त मैले पछि थाहा पाएँ नि। मैले छोएको खान हुन्न भनेका रहेछन्,’ उनले सम्झिइन्, ‘मेरो मन साह्रै दुख्यो। त्यही दुखाइ नै दलित हुनुको पहिलो अनुभुति थियो। सो कुरा घरमा भनेपछि हामी तल्लो जातको रहेको भन्ने कुरा थाहा भएको थियो।’
आफूलाई कथित उपल्लो जात ठान्नेहरूले दलितलाई हेलाहोँचो गर्छन् भन्ने पनि त्यतिखेरै थाहा पाएकी थिइन्। त्यो चलन उनलाई पहिलो पटकमै मन परेन। त्यसअघि उनलाई आफू गरिब भएकाले नै अरू साथीहरूले जस्तो फेरि फेरि लुगा लगाउन नपाएको, खान नपाएको र अरू किसिमका दुस्ख पाएको भन्ने लाग्थ्यो। कलेजमा पढ्न थाल्ने बेलासम्म त यस्ता घटना उनले धेरै भोगिसकेकी थिइन्। अब भने उनलाई दलित भएकैले गरिब पनि भएको होला कि भन्ने लाग्दै गयो। पढाइमा आफू अब्बल हुँदाहुँदै पनि दलित कारण हेपिनुपर्ने अवस्थासँग उनलाई झोक चलेर आउँथ्यो। समाजको यस्तो चालचलनको उनी विरोधि भएर निस्किइन्। अहिले त उनले आफ्नो नामको पछि ‘विद्रोही’ भन्न चाहन्छिन्।
उनी २०४२ साल मंसिर १६ गते सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित मटिहर्वा गाउँमा बुवा शिवराम दास र आमा किशोरी देवीबाट जन्मिएकी हुन्। उनका दिदीहरू स्कुल गएका थिएनन् तर उनी हुर्किँदै गर्दा गाउँमा छोरीलाई पढाउनु पर्छ भन्ने चेत खुल्दै थियो। उनी पाँचवर्षकी हुन थाल्दै गाउँका साथीहरूसँग स्कुल गइन्।
दलित बस्ति भएकाले उनको गाउँ राज्यको हरेक सुविधाबाट वञ्चित थियो। बाटोघाटो समेत राम्रो थिएन। पढ्नका लागि उनीजस्ता दर्जनौँ छात्रछात्रालाई टाढासम्म पैदल हिँड्नुपर्थ्यो।उनी स्कुल जान थालेपनि घरमा पढ्नै पर्छ भनेर कर कसैले गर्दैनथे। तर पनि उनी सानैदेखि पढाइमा गम्भिर थिइन्। एकदिनको कुरा हो शिक्षकले उनलाई भित्र पस्नै दिएनन्।
खास के भएको थियो भने, उनका बुवा दिनभरी खेतमा काम गर्ने जान्थे। उनलाई खाना र खाजा खेतमै पुर्याइदिनुपर्थ्यो। त्यो दिन स्कुल जाने बेला दिदीले ललितालाई भनिन्( बुवालाई खाना पुर्याइदेउ। दिदीले भनेको मानेर उनी खाना लिएर खेतमा गइन्। फर्केर घर आएर कापि किताब राख्ने बोराको झोला र सिलेट लिएर स्कुल गइन्। न हातमा घडि न घरमा त्यसैले समय कति भयो भन्ने कुरै उनलाई थाहा थिएन।
ढिलो आएको भनेर उनलाई शिक्षकले कक्षाकोठामा प्रवेश दिएनन्। सजायस्वरूप उनलाई बाहिरै बस्न भने। उनी पनि कक्षाकोठा बाहिर बोरा ओच्छ्याइन अनि भित्र शिक्षकले पढाएको सुनेर बसिन्। यो कक्षा एकमा कखराको अन्तिम कक्षा थियो। त्यो दिन आफूले कदेखि ज्ञ सम्मका सबै अक्षर लेख्न सिकेको उनी बताउँछिन्। उनको पढाईमा रूचि देखेर सरहरूले माया गर्न थाले तर परिवारले भने पढ्नु र नपढ्नु चासो दिएको थिएन।
जब उनले प्रथम श्रेणी ल्याएर तीन कक्षा पास गरिन् तब स्कुल र बस्तीभरी उनको चर्चा चुलियो। त्यसपछि बल्ल आमाबुवाले पनि उनको पढाइमा चासो दिन थाले। तर घरको काम नगरि उनलाई सुख थिएन। घरकै कामको कारणले उनले धेरैदिनसम्म स्कुल जान भ्याउन्नथिन्। अनि हेडसर आएर सोध्थे। भोलीपल्टदेखि आमाबुवाले उनलाई स्कुल पठाउँथे। छोरीलाई पढ्न नरोके पनि उनका आमाबावुले उनलाई राम्रो गरि घर व्यवहार गर्न सिकाएर विहे गरिदिने सपना बाहेक अर्को कुनै सपना देखेका थिएनन्। ललिताले भने धेरै पढ्ने सपना बुन्दै थिइन्। उनको सपनालाई हेडसरले हाँगा हाल्दै भन्थे( तिम्रो पढाइ राम्रो छ एसएलसी पछि साइन्स पढ्नु पर्छ। उनलाई लाग्थ्यो साइन्स पढेपछि ठूलो मान्छे भइन्छ।
सपना बुन्दा बुन्दै ललिता केही ठूली भइन्। अनि आमाबुवाले आफ्नो सपना पुरा गर्न उनको विहे गरिदिए। धन्न उनले विहे पछि पनि पढ्न जान छोडिनन्। विहे गरेको चार वर्षपछि उनले एसएलसी पास गरिन्। उनका श्रीमानले क्याम्पस जान उनलाई सहयोग गरे।
‘पढ्न जाने भए जाउ भन्नुभयो। सानोतिनो जागिर खोज्यौ भने तिमीलाई पढ्न र पकेट खर्च गर्न सजिलो होला भनेर उहाँले नै मलाई हौसला दिनुभयो,’ उनले सम्झिइन्। उनले आफ्ना स्कुलका हेडसरले देखाएको बाटो रोजिन्। साइन्स लिएर आइए भर्ना भइन्।
उनले कलेज पढिरहँदा मधेश आन्दोलन सुरू भएको थियो। उनी पनि आन्दोलनमा चासो राख्न थालिन्। त्यहाँ मधेसी र दलितलाई कसरी राज्यले पछि पारेको छ भन्ने कुरा हुन्थे। राज्यले आरक्षण दिनुपर्ने कुरा उठ्थ्यो। यी सबकुराले उनको राजनीतिमा चाख बढाउँदै लगे। उनी आफै आन्दोलन भएका ठाउँमा जान थालिन्। आन्दोलनमा गएर उनले धेरै कुरा सिकिन्।
लहानस्थित क्याम्पसमा आइएससी पढ्दै गर्दा उनले स्थानीय रेडियोहरूमा पार्टटाइम काम गर्न थालेकी थिइन्।
रेडियोमा कार्यक्रम सञ्चालन गर्ने, गीतसंगीत बजाउने, विज्ञापनमा भ्वाइस दिने र ग्रामीण भेगमा गएर स्थलगत कार्यक्रम उत्पादन गर्नेलगायतका कामहरु गर्नुपर्थ्यो। रेडियोमा काम गर्दा धेरै मान्छेसँग उनको कुराकानी भयो। त्यही भएर उनले राजनीतिकर सामाजिक विषयमा आफ्नो ज्ञानको दायरा बढाउँदै लैजान पाइन्।
आइएसस्सी सकेपछि पढाउनुपर्ला भन्ने सोच्दै थिइन्। तर स्टाफनर्स पढ्न पूर्ण छात्रवृत्ति पाइन्। साथसाथै उनले रेडियोमा पनि काम गर्थिन्। ०६९ उनको घरको आर्थिक अवस्था निकै नाजुक भयो। योबेला बीचमै पढाइ छोड्नुपर्यो। उनी परिवार सम्हाल्न तिर लागिन्।
२०७१र७२ सालतिर मुलुकमा नयाँ संविधान बनाउने काम तिब्र हुँदै थियो। संविधानमा लेख्न लागिएका नागरिकता लगायतका सवालमा मधेशवादी दलहरूले असहमति जनाए। राज्यले र यसको संस्थापनले वर्षौँदेखि आफूहरूमाथि गर्दै आएको विभेदकारी व्यवहारले मधेसी जनता असन्तुष्ट थिए। संविधान निर्माणका क्रममा मधेसमा आन्दोलन हुन थाल्यो।
बालबच्चा र परिवारको ख्याल गर्न पढाइ छोडेपनि उनी घरभित्रै मात्र बसिरहन सक्ने थिइनन्। उनीभित्र पलाइरहेको राजनीतिक चेतले पनि उनलाई घरभित्र बसिरहन दिन्नथ्यो। मधेश र मधेशीमाथि राज्यले नै विभेद गरी अन्याय, अत्याचार गरेको देखेपछि त उनी आन्दोलनमा सहभागी भइन्।
त्यसपछि नै हो उनको राजनीतिक यात्रा सुरू भएको। उनले आन्दोलनका क्रममा राजनीतिक संगत बढाइन्। जनताका सुख दुख बुझिन्। उनी यसै पनि अन्याय र अत्याचार भएको कुरा मन पराउन्नन्। राजनीति उनले आफ्नै हिसाबले सुरू गरिन्। आन्दोलनमा लागे पनि उनी कुनै पार्टीमा संलग्न थिइनन्।
संविधान जारी भएपछि पनि मधेसमा आन्दोलन धेरै समय भइरह्यो। आन्दोलनपछि पनि उनी समाजका विविध विषयमा आफ्नै हिसाबले कुरा राख्न थालिन्। अन्याय भएको ठाउँमा गएर त्यसको विरूद्ध काम गर्न थालिन्। धेरैजसो महिलामाथि भएका अन्यायविरूद्ध आवाज उठाइन्।
२०७४ सालमा चुनाव हुन लाग्दै थियो। यो चुनाव संघियता लागु गर्ने पहिलो चुनाव थियो। किनभने यसले चुनाव मार्फत प्रदेश सरकार गठन गर्थ्यो। राजनीतिका सैद्धान्तिक पक्ष यसले गर्ने कामबारे थाहा भएपनि चुनावी प्रकृयामा कसरी सहभागी हुने भन्ने उनलाई थाहा थिएन। उम्मेदवारी कति किसिमका हुन्छन् भन्ने थाहा थिएन रे।
उनलाई चुनावमा उठ्ने उम्मेदवारी दिने र जिम्मेवारी लिने कुरामात्र थाहा थियो। ललिताले संघियता लागु गर्ने यो चुनावमा आफू पनि सहभागी हुने निर्णय गरिन्। र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिइन्।
‘मलाई समाजका महिलाहरूले तँ जित्छस् चुनावमा लड भन्यो। घर परिवार र श्रीमानसँग सरसल्लाह गरेँ। तर त्यतिबेला टिकट, स्वतन्त्र भन्ने कुरा थाहा थिएन । उम्मेदवारी दिनुपर्छ र जित्नुपर्छ भनेर मात्रै सबैले भने, मलाई पनि त्यही लाग्यो । र मैले उम्मेदवारी स्वतन्त्र रुपमा दिएँ,’ उनले भनिन्।
राजनीतिमा लाग्दा उनले धेरैलाई चिनेकी थिइन्, समाजिक काममा पनि हिँड्ने भएकोले भोट पनि राम्रै आउला भनेर उनी चुनावमा होमिएकी थिइन्। तर सोचे जस्तो भएन। उनले चुनाव हारिन्। ‘प्रचारप्रसार गर्ने तरिका पनि थाहा थिएन। गाउँघरमै चन्दामार्फत प्राप्त भएको आर्थिक सहयोगले प्रचारप्रसार गरियो। दलित र महिलाको मुद्दा उठाएर मधेश आन्दोलनलाई समर्थन गरी सहभागी भएको थिएँ र रेडियोका काम गर्दाको बेग्लै पहिचान भएकाले पनि आफू अवश्य जित्छु भनेर लागियो। तर परिणामा उल्टो आयो,’ उनले भनिन्।
त्यसपछि उनलाई राजनीतिक दलहरूले बोलाउन थाले। ललिता भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरिन्। र पार्टीमार्फत नै काम गर्न थालिन् अनि जसपाको केन्द्रीय सदस्य समेत भइन्। २०७९ सालको चुनावमा जसपाले उनलाई प्रदेश सभाको समानुपातिक उम्मेदवारको सूचिमा राख्यो। पछि उनी मधेस प्रदेशसभामा सदस्य भइन्।
‘लहानमा जसपा नेपालको पकड राम्रो छ । घरमा पनि नेताहरु पहिलादेखि आउनेजाने गर्थे र जसपा नेपालले नै पार्टीमा आएपछि उम्मेदवार बनाउँछु र जिताउँछु भनेर भन्यो। दलित मधेशी महिलाको लागि काम गर्ने पार्टी हो भनेर भनेपछि मैले यही पार्टी रोजेँ,’ उनले भनिन् ।
यसरी उनले आफ्नो राजनीतिक यात्रा आफै तय गर्दै प्रदेश सभा सदस्यसम्म भएकी हुन्। स्कुल पढ्दा धेरै पढ्ने सपना देखेकी ललिताका सपना अहिले फेरिएका छन्। उनी सांसद मात्र होइन मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्री समेत हुन चाहन्छिन्। ‘राजनीतिमा लागेपछि मेरो सपना फेरिएको छ। सामाजको हितमा बोल्ने अनि काम गर्ने। यी काम गर्न राजनीतिक नेतृत्वमा पुग्न जरूरी छ। अहिले प्रदेश सांसद भएकाले एक सफल सांसद भएर आफ्नो समाजको लागि प्रभावकारी काम गर्नुपर्छ भनेर लागेको छु,’ उनले भनिन्, ‘मेरो सपना त प्रधानमन्त्री भएर देश चलाउने नै छ नि। सपना त देख्नु पर्यो नि। काम गर्दै गए पुरा हुन पनि त सक्छ।’
प्रदेश सभा सदस्य भएपछि उनले मधेसमा दलित र महिला अन्यायमा परेका विषय उठान गरेकी छन्। आर्थिक र समाजिकरूपले उनीहरूलाई सबल बनाउन बजेट छुट्याउ भन्दै भाषण गरेकी छन्। विभिन्न नगरहरूमा बोल्न जाँदा दलित मैत्री बजेट बनाउन माग गरेकी छन्। राजनीतिक नेताहरूले महिला र दलितलाई गरेका व्यवहार सहि छैनन् भने तिनको विरोध गर्ने उनको स्वभाव छ। त्यसैले पनि धेरैले उनलाई विद्रोही छिन् भनेर चिन्छन्। कसैले त धेरै बोल्छिन् भनेर कुरा पनि काट्छन्।
राजनीतिक कुरामात्र होइन समाजमा दलित र छोरीलाई हेलाहोचो गरिने प्रथा हटाउन आवाज उठाएकी छन्। आवाज मात्र उठाएकी छैनन् कतिपय व्यवहार परिवर्तन आफैबाट सुरू गरेकी छन्। त्यसमध्ये एक हो, आमाको दाहसंस्कार।
मधेसी समाजमा लास बोक्ने, मलामी जाने र दाहसंस्कारमा महिलाहरूलाई सहभागी गराईंदैन। आफ्ना अभिभावकलाई अन्तिम बिदाइ समेत गर्न नपाउने यस्तो संस्कार विरूद्ध उनले आवाज उठाइन्। आफ्नी आमाको मृत्युपछि पार्थिव शरीर बोकेर घाटसम्म गइन्, दाजुसँगै उनले पनि आमालाई दागबत्ती दिइन् अनि आमाको काजक्रियामा पनि बसिन्।
आफ्नी आमाको अन्तिम विदाइ गर्ने इच्छा मात्र पुरा गर्न होइन छोरीहरू छोरा सरह जिम्मेवारी उठाउन र अधिकार भोग गर्न सक्छन् भन्ने कुरा समाजलाई बुझाउन पनि आफूले आमाको दाहसंस्कार गरेको उनको भनाइ छ। प्रदेशसभामा प्रवेश गरेपछि उनले स्थानीयस्तरदेखि प्रदेशस्तरीयसम्मका सामाजिक, राजनीतिक, आर्थिक, महिला तथा घरेलु हिंसा, बालबालिकाको अधिकार, यूवापुस्ताको अवस्था, आर्थिक समृद्धिका लागि रोजगार र विकासलगायतका बारेमा आफ्नो विचार राख्दै आएकी छन्।
उनले प्रदेशसभामा हुने गरेका विभिन्न विधेयकमाथि महिला र दलितको प्रतिनिधित्वका लागि, उनीहरुको अवसरका लागि, विकासका लागि र राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने माग गर्दै संसोधन हालेकी छन्। उनका राजनीतिक साथिहरू भन्छन्( समाजमा हुने गरेका साना मुद्दादेखि साझा मुद्दासम्म उनले उठाउने गरेकी छन्।
प्रदेशसभा सदस्य किरण कुमारी साह पनि सभासदस्य ललिताको कामबाट प्रभावित रहिछन्। ‘प्रायः हरेक पटक हाउसमा बोल्न पाउँदा वहाँले स्थानीय, प्रदेश र संघीय सरकारका कामका बारेमा प्रश्न उठाउनुहुन्छ,’ उनले भनिन्, ‘वहाँमा बोल्ने कला पनि छ। दलित, महिला वा सिमान्तकृतमाथि भएका थिचोमिचो विरूद्ध उहाँको खरो विरोध मलाई खुब मन पर्छ।’
ललितालाई भने सरकार, प्रहरीप्रशासन र अदालतले सांसदले उठाएका विषयमा ध्यान नदिँदा आफ्नो बोलि बोलिमै सिमित रहेको भन्ने लाग्छ। ‘महिला र दलित विरूद्धका थिचोमिचो त प्रहरी प्रशासन र अदालतले आफ्नो काम सहि तरिकाले नगर्दा ज्यादा भएका छन्,’ उनले भनिन्, ‘मैले संसदमा आवाज त उठाउँछु। तर सरकार र अदालतले सुन्नु पर्यो नि।’
प्रदेशसभामा प्रवेश गरेपछि अहिलेसम्म ८४ पटक बैठक बसेको छ। जसमध्ये उनले ७३ पटक बोल्ने अवसर पाएकी छन्। जसमध्ये उनले दलित महिलामाथि हुने गरेको अन्याय, अत्याचार र बलात्कारबारे बोलेकी छन् । आफूले पार्टी र सदनसँगै लडेर बोल्ने समय माग गर्ने गरेको उनले बताइन्।
प्रदेशसभा बैठकमा बोल्नका लागि पार्टीले समय उपलब्ध गराउँछन्। जुन अवसर संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतकले बोल्ने विषयमा अनुमति दिने गर्छन्, बोल्नका लागि पनि पार्टीबाट अनुमतिसँगै समय पनि माग गर्नुपर्ने हुन्छ।
‘संसदमा को बोल्ने कति समय बोल्ने भन्ने कुरा हाम्रो दलको संसदीय दलले तय गर्छ। समितिको बैठकमा त मैले लडेर नै हाउसमा बोल्ने अवसर लिने गरेको छु,’ उनले भनिन्, ‘नभए सजिलै ल तिमी बोल न भनेर कसले छोडिदिन्छ र?’
ललिता अहिले प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्यायका सदस्यसमेत छिन्। समितिले खासगरि महिला, बालबालिका र न्याय सम्बन्धी नीति नियमकानुनबारे छलफल गर्छ। कानुन निर्माणको काम पनि गर्छ। प्रदेश सभामा आफ्नो सक्रिय भूमिका निभाउँदै आएकी ललितालाई राजनीति नै समाजका धेरै समस्या समाधानको माध्यम हो भन्ने लाग्छ।
‘समाजका समस्या समाधान गर्ने यो क्षेत्र आफै पनि सुधार हुँदै जानु आवश्यक छ। शासनसत्ता नै सही व्यक्तिको हातमा नपुगेसम्म, सहि बाटोमा नहिँडेसम्म अरू क्षेत्र सुधार गर्न गाह्रो छ,’ उनले भनिन्, ‘राज्यले सुशासन, समानता र समतामुलक अधिकार दियो भने देश बन्दै जान्छ। जुन काम अझैसम्म हुन सकेको छैन। त्यसैले त हामीले संघर्ष गर्नुपरिरहेछ नि।’
आफूले महिला, दलित र मधेसीमाथि भएको थिचोमिचो बुझेपछि राजनीतिमा लागेको भन्दै ललिता भन्छिन्( आफ्नो अवस्था सुधार्न मैले एक्लै संघर्ष गरिरहेका बेला दलित, महिला र मधेसीलाई राज्य र समाजले गरेका अन्यायबारे थाहा पाएँ। अनि अन्यायविरूद्ध आन्दोलनमा होमिएँ। जानेर नजानेर भए पनि त्यही अन्याय मेटाउन म राजनीतिमा आएको हुँ। मेरा पाइला अब कहिलै पछाडि फर्किने छैनन्।