अपडेट 
२०८१ माघ २७, आईतवार ०८:३४

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठीको समग्र समस्या समाधानका लागि सरकारले गुठी ऐन ल्याउने पक्षमा रहेको बताएका छन् ।

धनुषा–महोतरीमा रहेको गुठीका जग्गाहरूको निरीक्षण पश्चात शनिबार मालपोत कार्यालय धनुषाको अवस्था बुझ्नका लागि कार्यालय परिसरमा भएकामन्त्री अधिकारीले गुठीको जग्गाहरूको स्थलगत अनुगमन गर्दा कति ठाउँमा मिचिएको, कतिले कोत नबुझाएको, कति कोत बुझाउने सम्झौता गरे पनि बुझाउँदै नबुझाएजस्ता समस्याहरू देखिएको बताए ।

उनले यस्ता समस्याको नियमन गुठी संस्थानले गर्नुपर्नेमा जोड दिँदै त्यो भए नभएको विषयबारे जानकारी लिन पनि आफू देशको विभिन्न जिल्लामा पुग्ने गरेको बताए । उनले देशमा तीन तहको संरचना भएपछि स्थानीय, प्रदेश र सङ्घले अधिकारलाई कसरी प्रयोग गर्ने विषयमा सरकारले एउटा समिति बनाउने र ती समितिले देशभरीबाट आएका सुझावलाई समावेश गरी एकीकृत रूपमा गुठी ऐनको मस्यौदा ल्याउने बताए ।

मन्त्री अधिकारीले २०७४ मा पनि गुठीको ऐनसम्बन्धी मस्यौदा तयार भएर ऐन ल्याउन खोज्दा विभिन्न कारण देखाएर विरोध भएपछि आउन नसकेको बताए ।

यसअघि मालपोत कार्यालय धनुषाको अवस्थाको अनुगमन गर्दै मन्त्री अधिकारीले कर्मचारीलाई जनताले दुःख पाउने किसिमको कुनै पनि काम नगर्न निर्देशन दिए । उनलाई मालपोत कार्यालय धनुषाका कर्मचारीले घरको अभावमा भइरहेको तामेली व्यवस्थापनको समस्या, मोठ व्यवस्थापनमा बजेटको अभाव र कम्पयूटरको अभावजस्ता समस्याको बारेमा अवगत गराए ।

मन्त्री अधिकारीको टोलीमा गुठी संस्थानका प्रशासक शैलेसराज कुवँर, गुठी संस्थानको बोर्ड सदस्य दीपककुमार पाठक, गुठी संस्थानका सहप्रशासक बैकुण्ठ रेग्मी, गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका प्रमुख आनन्दप्रसाद कर्माचार्य, मालपोत कार्यालय धनुषाका प्रमुख रमेश पौडेलसहितको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News