![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/IMG-20250210-WA0012-1.jpg)
मधेश प्रदेशको पूर्वाधार विकास कार्यालय धनुषाका निमित्त प्रमुख रामकिशोर साहले योजना दिन अगावै कमिसन माग्न थालेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा कनिष्ठ रहे पनि गत जेठ महिनादेखि उनी पूर्वाधार कार्यालय धनुषाका प्रमुख बनेका छन् ।
गत आर्थिक वर्षमा कयौं योजनालाई अलपत्र पारेका साहले काम अधुरा रहेपनि ठेकदारलाई भुक्तानी गरी मोटो रकम कमिसन असुलेका थिए । आर्थिक वर्षको अन्त्यमा भारी वर्षा भएको बेला साहले ठेकेदार र उपभोक्ता समितिसित मोटो रकम कमिसन लिएर भुक्तानी गरेको आरोप लागेको थियो ।
स्रोतहरुका अनुसार उनले उपभोक्ता समितिमार्फत हुने कामलाई समेत अघोषित रुपमा ठेकेदारबाट गराउन कमिसनको चलखेलमा सक्रियता बढाएका छन् । समयमै काम गर्न आलटाल गर्ने र अन्तिम समयमा कामै नगरी भुक्तानी गरेर कमिसन असुल गर्न साह खप्पिस रहेको आरोप मन्त्रालयका कयौं कर्मचारीहरुले लगाउने गरेका छन् ।
अग्रिम कमिसन नदिने उपभोक्ता र ठेकेदारलाई अनेक प्रकारको दुख दिने गरेका साहले चालु आर्थिक वर्षमा करोडमा कमिसन उठाउने लक्ष्य रहेको आफ्ना मातहतका प्राविधिकहरुलाई बताउने गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा साहको भन्दा कयौं वरिष्ठ अधिकारीहरु छन् । तर उनीहरुलाई उछिनेर साहले पूर्वाधारको दोस्रो आर्थिक वर्षमा पनि कार्यालय प्रमुखको रुपमा निरन्तर छन् ।
निमित्त कार्यालय प्रमुख साहले क्षमताको आधारमा जिम्मेवारी पाएको धाक आफ् ना सहयोगीहरुलाई लगाउने गरेका छन् । पूर्वाधार कार्यालयका एकजना कर्मचारीले नाम सार्वजनिक नगर्ने शर्तमा भने, ठूलालाई उछिनेर त्यसै जिम्मेवारी पाएको होइन्, निर्धारित रकम अनिवार्य रुपमा बुझाउनु पर्छ ।
गत आर्थिक वर्षमा साहले अलपत्र छाडेका कयौं योजनाहरुको कारण सर्वसधारणलाई सास्ती भएको छ । यस सम्बन्धमा प्रमुख साहसित उनको नम्बर ९८५४०२०५३९ नम्बरमा पटक पटक सम्पर्क गर्ने प्रयासगर्दा उनले फोन उठाएनन् ।