२०८१ माघ २९, मंगलवार ०८:१७

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र संकटमा पर्दै गएपछि नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताएका छन् ।

मलंगवामा सोमबार एमालेको वडा केन्द्रित तीन महिने अभियान सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता पोखरेलले कांग्रेससँग सहमती र प्रतिस्पर्धाको दुवै पाटोलाई बुझ्नुपर्ने बताए ।

राष्ट्रिय संकट आउँदा सहकार्य र सामान्य अवस्थामा कांग्रेससँग प्रतिस्पर्धा नै हुने पोखरेलको भनाइ छ । सरकार बन्न नै संकट, विकास ठप्प र विदेशी हस्तक्षेप बढेपछि ती संकट समाधान गर्न कांग्रेससँग सहकार्य गरिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अगुवा कार्यकर्तालाई प्रष्ट पारे । उनले २०८४ को निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बनाउने र देशलाई स्थिरता दिने एमालेको योजना रहेको सुनाए ।

पोखरेलले माओवादीप्रति लक्षित गर्दै फेरि म्याजिक नम्बरमा देश गए बर्बाद हुने बताए । एमालेलाई जरो तहसम्म मजबुद बनाउन वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गरिएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले उल्लेख गरे ।

कार्यक्रमलाई पार्टीको संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, पार्टीका नेता एवं पूर्व मन्त्रीद्वय लीलानाथ श्रेष्ठ र हरिप्रसाद उप्रेती, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायतले बोल्दै अभियानलाई सफल बनाउन अगुवा नेता, कार्यकर्तालाई आग्रह गरे ।

जनताका गुनासा तथा समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र साथसाथै पार्टीको संगठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यसहित वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गर्न लागिएको एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिए । सर्लाहीमा २० पालिकाका दुई सय वटै वडामा यो अभियान सञ्चालन गरिने एमालेले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News