अपडेट 
२०८१ माघ २९, मंगलवार ११:०१

आपत्कालीन कोषमा योगदान गरेकोमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपाललाई धन्यवाद ज्ञापन गरेको छ ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयले दक्षिणपूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा नेपाललाई धन्यवाद ज्ञापन गरेको हो । कोषमा नेपालले १५ लाख रुपैयाँ (झण्डै ११ हजार अमेरिकी डलर) योगदान गरेको थियो ।

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो । थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो देश हो ।

सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीबाट प्रभावित दक्षिण–पूर्वी एशिया क्षेत्रका विभिन्न देशको सिकाइका आधारमा कोष स्थापना गरिएको हो ।

नेपालले पनि सन् २००८ मा कोशीमा आएको बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ मा जाजरकोटमा गएको भूकम्पको प्रतिकार्यमा कोषबाट सहयोग प्राप्त गरेको थियो ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले सदस्य देशहरुलाई कुनै पनि ठूलो जनस्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी प्रतिकार्य गर्न सक्षम बनाउनका लागि निरन्तर सहयोग गर्नेमा कोष व्यवस्थापन पक्ष प्रतिबद्ध रहेको जनाएको विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News