अपडेट 
२०८१ माघ ३०, बुधबार ०८:१७

भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारतका उर्जा सचिवस्तरीय बैठकमा आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ ।

दुवै देशका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठकले संयुक्त लगानीमा चार सय केभी क्षमताका इनरुवा–पुर्णिया र दोधरा–बरेली अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाउने सहमति भएको हो ।

दुवै प्रसारणलाइन निर्माण गर्न लगानीको मोडालिटीसमेत निर्माण भएको छ । उर्जा मन्त्रायलका अनुसार यी दुवै प्रसारणलाइन निर्माणका लागि नेपालको तर्फबाट विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी रहने गरी कम्पनी स्थापना हुनेछ ।

कम्पनीमा नेपालतर्फ बन्ने प्रसारणलाइनमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फ प्रसारणलाइन निर्माण गर्दा भारतको पावर ग्रिडको ५१ र नेपालको ४९ प्रतिशत लगानी रहने भएको छ ।

संयुक्त कम्पनीको स्थापनाबारे आवश्यक प्रकृया र काम एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ ।

बैठकले नेपाल–भारत अन्तरदेशीय तीनवटा उच्च क्षमताका प्रसारणलाइन निजगढ–हरनैया, कोहलपुर–लखनउ र ढल्केबर–मुजफ्फरपुर निर्माणमा पनि सहमति गरेको छ । अहिले नेपाल–भारतबीच उच्च क्षमताको चार केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन मात्र सञ्चालनमा छ ।

यो प्रसारणलाइनबाट आठ सय मेगावाट बिजुली आपूर्ति हुँदै आएकोमा क्षमता विस्तार गरी एक हजार मेगावाट आपूर्ति गर्न सक्षम बनाइने उल्लेख छ ।

यसबाहेक चार सय केभी क्षमताकै न्यू बुटवल–गोरखपुर प्रसारणलाइन पनि निर्माणाधिन छ । नेपालले भारतीय प्रसारणलाइन हुँदै थप विद्युत् बङ्गलादेशमा पनि निर्यात गर्ने उदेश्य राखेको छ ।

Comment


Related News

Latest News

Trending News