![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/photo-8-scaled.jpg)
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान बारे पढाउनुभएको छ । बुधबार सभामुख मण्डलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका विद्यार्थीहरूलाई स्वयम कक्षा कोठामै पुगेर संविधान बारे पढाउनु भएको छ ।
कानूनशास्त्र विषयका स्नातक तहका विद्यार्थीहरूलाई संघीय शासन प्रणाली, यसको अभ्यास, समावेशिताको सकारात्मक प्रभाव जस्ता विषयमा एक घण्टा पढाउनुभएको छ ।
कक्षा समाप्त भएपश्चात उनले विद्यार्थीहरुलाई मनमा उठेका प्रश्न सोध्नसमेत समय दिए र उठेका प्रश्नहरुको जवाफ दिएका थिए । सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभामुख मण्डलले अबका दिनमा ८ वटै जिल्लामा पुगेर समयानुचित हुने गरि कानुन संकायका विद्यार्थीहरुलाई पढाउने जानकारी दिए ।
सभामुख जस्तो गरिमामय पदमा भएका व्यक्तिबाट भएको यस असल अभ्यासको प्रशंसा गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउने काम भएको क्याम्पस प्रमुख ठाकुरले बताउँदै यो अभ्यास अरू तीर पनि हुन जरुरी रहेको बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति प्रध्यापक डा. अमर प्रसाद यादवले सभामुख आफै आएर विद्यार्थीहरुलाई पढाएकोमा विद्यार्थीहरुमा साकारात्मक उर्जा उत्पन्न भएको बताए । उनले विद्यार्थीहरुले किताबमा पढ्दै आएको कुराहरु, प्रदेशको सभामुखले आफ्नो अनुभव र अभ्याससंग जोडेर पढ्न पाउँदा अझः राम्ररी सिक्न सकेको जानकारी दिए । सभामुखले पहिला पनि पढाउन ईच्छा जाहेर गर्दै आएकोमा आज उनले कक्षा लिएकोमा विश्वविद्यालय र विद्यार्थी आभारी रहेको उनले बताए ।