अपडेट 
२०८१ फाल्गुन १, बिहीबार १४:४२

सवारी लाइसेन्सको आधिकारिकता जाँच गर्न अहिले प्रहरीसँग देशभर ७ सय वटा ‘स्मार्ट कार्ड रिडर’ मेसिन छ । जसमा २ सय वटा ७ वटा प्रदेशलाई बाँडिएको छ भने काठमाडौं, भक्तपुर ललितपुरमा ५ सय थान छन् ।

यातायात व्यवस्था विभागका अनुसार बागमती प्रदेशका सबैभन्दा धेरै स्मार्ट कार्ड रिडर मेसिन रहेको छ । बागमती प्रदेशमा ७४ वटा स्मार्ट कार्ड रिडर मेसिन सञ्चालनमा रहेका छन् । भने, सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा ९ वटा मात्रै स्मार्ट कार्ड रिडर रहेको छ । भने, सुदूरपश्चिम प्रदेशमा १३ वटामात्रै स्मार्ट कार्ड रिडर छ । मधेश प्रदेशमा २८ र गण्डकी प्रदेशमा १२ वटा छ ।

यातायात व्यवस्था विभागका निर्देशक गणेशमान सिंह हालसम्म ३८ लाख २६ हजार ६२१ वटा स्मार्ट लाइसेन्स वितरण गरिएको बताउँछन् । उनका अनुसार करिब ३० लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ ।

ट्राफिक प्रहरीले सबै लाइसेन्स नभई शंका लागेको मात्र परीक्षण गर्न पाउने उनले बताए ।

‘शङ्का लागेको लाइसेन्स परीक्षण गर्ने हो । एउटा लाइसेन्स परीक्षण गर्न करिब ३५ सेकेन्ड लाग्छ । ट्राफिक प्रहरीले चेकिङका क्रममा कुनै स्मार्ट लाइसेन्स नक्कली हो भन्ने शङ्का लागेमा मात्रै चेक गर्ने गरेको छ’, सिंहले भने ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जयबहादुर राउत भन्छन्, ‘लाइसेन्स चेक गर्दा रिडर मेसिनबाट लाइसेन्स नम्बर, चालकको नाम, ठेगान र अन्य विवरण आउँछ । अहिलेसम्म नक्कली भेटिएको छैन । चेकिङको समयमा लाइसेन्स चेक हुने गर्छ ।’

स्मार्ट कार्ड लाइसेन्स परीक्षणमा सहजताका लागि यातायात व्यवस्था विभागले २ वर्षअघिबाट लाइसेन्स रिडर मेसिन दिएको थियो । यसले लाइसेन्समा भएको चिपलाई रिड गर्छ ।

Comment


Related News

Latest News

Trending News