
मधेश सरकारको निर्देशनको पालना नगरेको भन्दै एक निजी अस्पतालका सञ्चालक पक्राउ परेका छन् ।
गत शनिबार मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधामका २० वटा निजी अस्पतालमा छड्केसहित अनुगमन गरेका थिए । सो क्रममा दर्ता नरहेका अस्पतालहरूलाई आइतबारसम्म बन्द गरेर साँचो प्रदेश सरकारलाई बुझाउन निर्देशन दिएका थिए । तर दर्ता नरहेको जनकपुर मोडर्न हस्पिटलले निर्देशनको पालना नगरी होस्पिटल सञ्चालन जारी नै राखेपछि सञ्चालक रामभरोस महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
मुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहको टोली पुनः अनुगमन गरेपछि सो होस्पिटल बन्द नगरेको पाइएपछि प्रहरी लगाएर बन्द गराइएको हो । सो क्रममा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी पनि थिए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन टोलीले मोडर्न हस्पिटलका सञ्चालकलाई प्रहरीको जिम्मा लगाएको बताउँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने छ ।