![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/car_chori-1739529182.jpg)
विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ स्थित पिपलचोक क्षेत्रबाट नयाँ कार चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिए ।
पूजा इन्टरनेसनल नेपाल प्रा.लिको सोरुमबाट फोक्स बगान ब्रान्डको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी चोरी भएको थियो । यसको बजार मूल्य ८० लाख रहेको बताइन्छ ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ । बिहीबार राति करिब २ बजेतिर गेट खोलेर भित्र छिरेका व्यक्तिले सिसाको ढोका फुटाएर कार लग्दै गरेको सीसी क्यामेरा फुजेटमा देखिएको थियो ।
घटनामा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका–४ स्थायी घर भइ हाल विराटनगर–४ बस्ने २४ वर्षीय मन्तोषकुमार बिन पक्राउ परेका छन् । उनी गाडीसहित सुनसरीबाट पक्राउ परेका हुन् । इन्धन सकिएर रोकिराखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार विराटनगर नै फिर्ता ल्याइएको इन्सपेक्टर ओलीले बताए ।