![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/kathmandu-air-polution.jpg)
नेपालको राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो ।
यतिखेर काठमाडौंको औषत वायु गुणस्तर सूचक (एक्यूआई) १७५ छ, जुन अस्वस्थकर अवस्था हो । ललितपुरको जावलाखेलको एक्यूआई २१३ पुगेको छ । त्यहाँको वायु प्रदूषण अवस्था अति अस्वस्थकर हो ।
विश्वमा उच्च वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौंपछि अफ्रिकी मुलुक कङ्गोको राजधानी किन्सासा दोस्रो स्थानमा छ ।
त्यसपछि क्रमशः चीनको वुहान, चीनकै साङ्घाइ, उज्वेकिस्तानको तासकन्द, म्यानमारको याङ्गुन, भियतनामको हनोइ, भारतको दिल्ली, बङ्गलादेशको ढाका र चीनको ह्वाङ्जावोले प्रदूषणको शीर्ष १० स्थानमा रेकर्ड राखेका छन् ।
काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसो/सुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ ।
मनसुन बाहिरिएर कात्तिक पहिलो सातादेखि पश्चिमी वायु सक्रिय भइ चिसो बढ्न थालेपछि वर्षा पनि कम हुन्छ । चिसो वायुको स्वभाव जहिले पनि जमिनसँग टाँसिएर बहने हुन्छ ।